
प्रदेश सभा सचिवालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका कतिपय प्रावधान असहमति जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक अवरुद्ध पारेको छ ।
सो प्रस्ताव विधायन समितिबाट गत १३ फागुनमा बहुमत आधारमा पास गरिएपछि समितिको प्रतिवेदन आज (बुधवार) प्रदेश सभासमक्ष पेश गर्ने कार्यसूची थियो ।
विधेयकका कतिपय प्रावधान र सरकारका गतिविधिको विरोध गर्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले विधेयक संशोधन नभएसम्म संसद् चल्न नदिने बताए ।
विधेयकमा सचिवालयका सचिवको काम-कर्तव्य, योग्यता, पदावधि, पारश्रमिक, उपचार खर्च, उपदान लगायत विषयमा कांग्रेसले असहमति जनाउँदै आएको छ ।
यसैबीच गण्डकी प्रदेश सभा परिसरमा संसदीय दलका नेता तथा विषयगत समितिका सभापतिका लागि छुट्टाछुट्टै कक्षसहित १ करोड २५ लाख रुपैयाँ लागतमा निर्माणमा गरिएको भवन बुधबार सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरेका छन् ।
यसअघि भवन अभावमा संसदीय दल तथा विषयगत समितिको बैठक बस्न असुविधा हुँदै आएको थियो ।