
राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले सरकार ठूल्ठूला भ्रष्टाचारको काण्डमा फसेको आरोप लगाएका छन् ।
बुधवार राजधानीमा पार्टी एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष राणाले जनताले दिएको प्रचण्ड बहुमतलाई सरकारले सदुपयोग गर्न नसकेको आरोप लगाए ।
‘यो सरकार भ्रष्टाचारले डुङडुङ गनाएको छ,’ राणले भने, ‘चुनावका बेला सिंहदरबारको अधिकार गाउँ–गाउँ पुर्याउँछु भन्ने नेकपाले भ्रष्टाचारलाई वडा–वडामा पुर्याएको बताए ।’
वाइडबडी विमान, सेक्युरिटी प्रिन्टिङ प्रेस, बूढीगण्डकी आयोजना लगायतलाई उनले भ्रष्टाचार भएको क्षेत्रका रूपमा उल्लेख गरे ।
अध्यक्ष राणाले सरकारले संवैधानिक अंगलाई राजनीतिकरण गरेको आरोप समेत लगाए । ‘सरकारले न्यायालयलाई भर्तिकेन्द्र बनाएको छ, नेपाली जनताले कानूनी साशन पाउने कुरा कागलाई बेल पाकेको जस्तै बनेको छ,’ उनले भने ।
अध्यक्ष राणाले सरकारमा कूटनीतिक विचलन, असन्तुलन र दिशाविहीनता देखिएको आरोप लगाए ।
‘सरकारसँग हिन्दूस्तान असन्तुष्ट छ, चीनलाई विश्वासमा लिन सरकारले सकेको छैन, अमेरिकालाई चिड्याएको अवस्था छ,’ राणाले भने ।