१६ असार २०८३, मंगलबार

स्थानान्तरण गर्न सकिने पुल निर्माणमा जुट्दै महानगर

फागुन २९, २०७६
स्थानान्तरण गर्न सकिने पुल निर्माणमा जुट्दै महानगर

काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षभित्रै सक्नेगरी तीन स्थानमा स्थानान्तरण गर्नसक्ने आकाशे पुल निर्माण कार्य तीव्ररुपमा अघि बढाएको छ ।  

अत्यधिकमात्रामा पैदलयात्रुको चाप हुने गरेको माइतीघर, जयबागेश्वरी र चाबहिल चोकमा निर्माणको कार्य शुरु गरिएको हो । हाल निर्माण भइरहेको माइतीघरको आगामी चैतसम्ममा र अन्य दुई स्थानको पनि चालू आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने गरी काम अघि बढेको छ ।

निर्माणको कामअन्तर्गत अहिले माइतीघरमा सिँडी राख्ने कार्य भइरहेको छ भने अन्य दुई स्थानमा पनि निर्माणको काम शुरु भइसकेको छ । स्थानान्तरण गर्नसक्ने पुल भएको हुँदा यसको लागि निर्माणको समय र आर्थिक भार पनि कम लाग्ने जनाइएको छ ।  

 महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अन्य सात स्थानमा पनि निर्माण गर्ने तयारी रहे पनि स्थान पहिचान हुन नसक्दा काम अघि बढ्न सकेको छैन । माइतीघर, टेकु भन्सार, त्रिपुरेश्वर, बबरमहल, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा पनि स्थानान्तरण गर्न सकिने पुल निर्माण कार्य गर्ने महानगरपालिकाको योजना छ । यस्ता खालका पुल निर्माणकै लागि महानगरले चालू आवमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । 

 महानगरले बनाउन लागेका सार्न मिल्ने पुलमध्ये माइतीघरको पुरातत्व विभाग अगाडि निर्माणको काम निकै अघि बढिसकेको छ । त्यसैगरी चाबहिल र जयबागेश्वरीमा पनि यही महिनाबाटै पुल निर्माण अगाडि बढ्ने प्रवक्ता ईश्वरमान डङ्गोलले बताए। आवश्यकता हेरी महानगरले अघिल्लो आर्थिक वर्षमै १० स्थानमा सार्न मिल्ने पुल निर्माण गर्ने बताए पनि हालसम्म तीन ठाउँमा मात्र पुल बन्ने निश्चित भएको हो ।

आकाशे पुल निर्माणसँगै दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापन कार्यमा ठूलो सहयोग पुग्ने महानगरपालिकाको विश्वास छ । 

 नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । यस्तो पुल पहिलो पटक बन्न लागेको हो । यसअघि परीक्षणका रूपमा पुरानो बसपार्क अगाडि स्थानान्तरण गर्न मिल्ने पुल बनेको थियो । महानगरभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल चालू छन् । रत्नपार्कमा एउटा सब–वे छ । 

 भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएका पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको महानगर आफैँले स्वीकारेको छ । काठमाडोँ उपत्यकामा नयाँ र पुराना गरी ३० आकाशे पुल छन् । हाल महानगरपालिकाले निर्माण गरिरहेको पुलको लागत एउटाको रु एक करोड रहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्