
विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई महामारी घोषणा गरेसँगै भारतले आफूकहाँ आउने मानिसहरूमा कडाइ गरेको छ ।
संसारभरि १२४ देशमा १ लाख २६ हजार ३८० जनामा संक्रमण पुष्टि भइसकेको र ४६ सय ३५ जनाको मृत्यु भइसकेको अवस्थामा महमारी घोषणा गरिएको हो । भारतमा ६२ जनामा संक्रमण देखिएको छ तर कसैको पनि मृत्यु भएको छैन ।
भारत सरकारले बुधवार अबेर अप्रिल १५ सम्मका लागि कूटनीतिक, आधिकारिक, संयुक्त राष्ट्रसंघ/अन्त्र्राष्ट्रिय संस्था, रोजगारी र प्रोजेक्ट भिसा बाहेक अन्य सबै भिसा हालका लागि निलम्बन गरिएको घोषणा गरेको छ । यो निलम्बन शुक्रवार साँझबाट लागू हुनेछ ।
अनि चीन, इटली, इरान, दक्षिण कोरिाय, फ्रान्स, स्पेन र जर्मनीमा फेब्रुअरी १५ पछि पुगेर आएका सबै यात्रुलाई अनिवार्य रूपमा १४ दिने क्वारेन्टाइनमा राखिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जमीनको बाटो हुँदै भारत प्रवेश गर्नेहरूलाई सीमानाकामा अनिवार्य स्वास्थ्य परीक्षण गर्नुपर्ने व्यवस्था छ । अर्थात् भारत जाने अधिकांश नेपालीहरूले सीमामा रहेका स्वास्थ्य परीक्षण डेस्कहरूमा परीक्षण गराएर मात्र भारतमा प्रवेश पाउनेछन् ।
हवाई मार्ग भएर भारत जानेहरूलाई पनि विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ ।