
बिहीबार बिहान १०ः३० बजे साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पुग्दा विगतभन्दा उपभोक्ताको भीडभाड र चहलपहल निकै कम थियो ।
यद्यपि किनमेल गर्नेको चहलपहल सुरु भइसकेको थियो । कार्यालय समयमा खुल्ने ग्यास तथा खाद्यान्न बिक्री केन्द्रबाट सामान खरिद गर्न केही उपभोक्ता त्यसअघि नै परिसरमा आइपुगेका थिए ।
विश्वभर कोरोना भाइरसको त्रास फैलिएपछि चिन्तित हुँदै उपभोक्ता साल्ट ट्रेडिङ पुग्न थालेका छन् । त्यहाँका कर्मचारी विगतभन्दा यो धेरै कम भीड हो । होलीभन्दा अगाडि त थेगी नसक्ने भीड थियो, बाहिरसम्म लाइन हुन्थ्यो भन्छन् । त्यहाँ कसैले ग्यास, नुन त कसैले चिनी, कसैले अन्य खाद्यवस्तु खरिद गरिरहेका थिए । रोचक पक्ष त के हो भने अघिपछि एक पोका नुन किन्ने उपभोक्ता दुईदेखि चार पोका अनि पाँच केजीसम्म चिनी खरिद गरिरहेका थिए । केहीले त एक बोरा चिनी र नुन किनेको समेत भेटियो ।
साल्ट ट्रेडिङ कर्पोरेसनभन्दा पाँच सय मिटर मात्र दूरीमा बस्ने उपभोक्ता प्रवासबहादुर सिंहले घरकै छेउमा ग्यासको डिपो भए पनि डिपोवालाले ग्यास सकियो भनेपछि यहाँ लिन आएको बताए। उनले डिपोहरू जानीजानी हाहाकार देखाइरहेका छन् । साँच्चिकै अभाव भए वा हाहाकार थियो भने यहाँ आउँदा यति सजिलो तरिकाले लिन किन पाइन्थ्यो भने।
साल्ट ट्रेडिङमा केही उपभोक्ता एउटै सामान दुई–दुई पटक आएर किनेको भेटिएको थियो । यस्ता उपभोक्ताप्रति बिक्री कक्षका कर्मचारी कराइरहेको सुनिन्थ्यो । साल्ट ट्रेडिङको बिक्री कक्षका कर्मचारी रुकमणि घिमिरे बजारमा समान अभाव हुने अफवाह फैलिएपछि अघिपछिभन्दा यहाँ पाँच गुणाले बिक्री बढेको थियो । अहिले अलि कम भएको छ भन्छन्।
कोरोनाका कारण उत्पादनमा कमी हुनुका साथै विभिन्न देशले आयात निर्यातमा रोक लगाएका छन् । त्यसले गर्दा खाद्यवस्तु लगायत अन्य उपभोग्य सामग्रीको अभाव हुन्छ कि भन्ने आशङ्कामा आम उपभोक्ताले खाद्यवस्तु लगायत अन्य सामग्री आ–आफ्नो घरमा भण्डारण गर्न लागेका छन् । घिमिरेले नाकाबन्दीभन्दा बढी व्यापार भइरहेको जानकारी दिँदै खुद्रा पसल सञ्चालकले पनि नुन तथा चिनी अघिपछिभन्दा बढी लगेको बताउनुभयो । उहाँले घरायसी प्रयोगका लागि थुप्रो सामान खरिद गरेर लगेका छन् तर अहिले निकै कम भएको छ भने।
साल्ट ट्रेडिङका डिभिजनल म्यानेजर ब्रजेशकुमार झाले चार गुणाले कारोवार बढेको बताए । दैनिक चार लाख कारोवार हुने ठाउँमा १२–१३ लाख सम्मको कारोवार भएको उनले बताए। उनले होलीभन्दा पहिला अलि बढी नै भीडभाड हुन्थ्यो । अहिले निकै कम भएको छ भने । गोरखापत्र दैनिकमा खबर छ ।