
ओखलढुंगाको रुम्जाटार मूल घर भएका देवराज गुरुङ दक्षिण युरोपेली मुलुक इटाली छिरेको २० वर्ष भयो । काम, रोजीरोटी र संघर्षको अनेक चरणमा अनेक खालका सास्ती बेहोरेका उनी पहिलो पटक आफ्नै घरभित्र ‘सेल्फ क्वारेन्टाइन’ मा बसेर बाहिरको कहालीलाग्दो अवस्था सुध्रिने दिन पर्खिरहेका छन् ।
‘कोरोना भाइरसका कारण चीनपछिको डरलाग्दो स्थिति इटालीमा देखिएको छ भन्ने समाचारमा पढ्दै छौं, संसारले रुचाएका रोम, भेनिस, मिलानोजस्ता पर्यटकीय सहरहरू सुनसान छन्, हामी सबैजसो घरभित्रै बसेर रमिता हेरिरहेका छौं,’ इटालीस्थित गैरआवासीय नेपाली संघका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘एउटा जोन (सिटी) बाट अर्कोमा जान पनि स्थानीय प्रहरी–प्रशासनको लिखित अनुमति लिनुपर्छ। हामी सबैजसो आफूआफैं क्वारेन्टाइनमा बसेका छौं।’
रोमस्थित चल्तीको पर्यटकीय रेस्टुरेन्टमा काम गर्ने उनी एक सातादेखि घरैमा छन्। उनलाई यो बसाइ अनिश्चितकालको हुने भनिएको छ। इटाली सरकारले मार्च महिनाभर सबैलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा बस्न निर्देशन दिएको छ। मार्च २५ सम्म रोमसहितका सहरमा पनि आवतजावत र अनावश्यक हिँडडुलमा प्रतिबन्ध लगाइएको गुरुङले बताए। ‘कतै बाहिरी सहर वा जोनमा जानुपर्यो भने स्थानीय प्रहरी–प्रशासनबाट आउटर सर्टिफिकेटमा हस्ताक्षर गराएर हिँड्नुपर्छ,’ उनले भने, ‘अरूभन्दा पनि इटालीमा रहेका कागजातविहीन केही नेपालीलाई अहिले मुस्किल परेको छ। यो कठिनाइ लामो समय नरहला भन्ने आस छ।’
पाँच वर्षदेखि रोममा बस्दै आएका सुदीप अधिकारीले त्यहाँका सबै रेस्टुराँ बन्द रहेको बताए। केही सुपरमार्केट र औषधि पसल मात्रै सञ्चालनमा छन्। ‘मान्छेहरू आफैंमा त्रसित छन्, केही निराश पनि छन्,’ उनले कान्तिपुरसँग भने, ‘एकअर्कासँग खुलेर बोल्न पनि छाडेको अवस्था छ।’
इटालीका सीमावर्ती मुलुकहरू स्विट्जरल्यान्ड, अस्ट्रिया, जर्मनी र फ्रान्स जाने नाका बन्द छ। सुदीपका अनुसार अन्तर्राष्ट्रिय र आन्तरिक उडान नगण्य मात्रै चलेका छन्। ‘यत्ति हो, यहाँ कालोबजारी हुँदैन, सामानको हाहाकार भएको छैन, बरु लामो लाममा बस्नुपर्छ,’ उनले भने, ‘सार्वजनिक यातायात पनि चलेकै छन् तर सबै खालीखाली छन्।’
इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएकामा १ हजार २ सय ५० जनाको निधन भएको छ। उत्तरी भेगमा रहेका मिलानो, भिनेतो, लुम्बार्दो, भारजेजस्ता ठाउँमा प्रकोप अत्यधिक छ। यी क्षेत्रमा आफू बसेको पाँच सय किलोमिटरभित्र मात्रै हिँडडुल गर्न सकिने र बाहिर जानुपरे अनिवार्य स्वास्थ्य प्रमाणपत्र तथा प्रहरीको अनुमति लिनुपर्छ। यही भेगका डेढ करोड नागरिकलाई ‘सेल्फ–क्वारेन्टाइन’ मा राखिएको छ, जहाँ नेपालीको पनि बसोबास छ।
इटाली मामला हेर्ने जेनेभास्थित स्थायी नियोगका उपप्रमुख तीर्थराज वाग्लेका अनुसार कोरोना सन्त्रासका कारण इटाली र स्विट्जरल्यान्डमा रहेका समेत नेपाली समुदायमा कुनै प्रकारको समस्याको खबर भने आएको छैन। उनले दिएको आधिकारिक तथ्यांकअनुसार इटालीमा १ हजार ६ सय र स्विट्जरल्यान्डमा ४ सय नेपाली छन्। रोममा रहेको नेपाली अवैतनिक दूतावासले स्थानीय नेपालीको मामला हेर्दै आएको छ।
इटालीमा रहेका गैरआवासीय नेपाली प्रतिनिधिले भने इटालीमा झन्डै २ हजार ५ सय नेपाली रहेको बताए। उनका अनुसार तीमध्ये करिब १ हजार जना महिला छन्। ‘झट्ट हेर्दा सबै ठीकठाक छ,’ गैरआवासीय संघ, राष्ट्रिय समन्वय परिषद्का सचिवसमेत रहेका अधिकारीले भने, ‘तर भित्री सन्त्रास बढेको छ। बाटोमा हिँड्दा एकले अर्कोलाई त्रास वा शंकाको नजरले हेर्न थालेको अनुभूति हुन्छ। फेरि समाचारमा दिनहुँ एक सय जनाभन्दा बढी मरिरहेको हेर्नु/सुन्नुपर्छ, यसकारण हामी अलिक निसासिएका हौं। असुरक्षित पनि होइन तर मनमा त्रास बढेको छ।’ कान्तिपुर दैनिकमा खबर छ ।