०५ असार २०८३, शुक्रबार

हिजो दिनभर : १२ दिनपछि अस्पतालबाट फर्किए प्रधानमन्त्री ओली, जीटुजी मोडलबाट सेक्युरिटी प्रेस खरिद प्रक्रिया रद्द गर्न निर्देशन

हिजो दिनभर : १२ दिनपछि अस्पतालबाट फर्किए प्रधानमन्त्री ओली,  जीटुजी मोडलबाट सेक्युरिटी प्रेस खरिद प्रक्रिया रद्द गर्न निर्देशन

१२ दिनपछि अस्पतालबाट फर्किए प्रधानमन्त्री ओली

मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले मिर्गौला प्रत्यारोपण गरिएको १०औं दिनमा प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गरेको हो ।

प्रधानमन्त्री ओली अस्तपाल भर्ना भएको भने १२ दिन पुगेको छ ।

प्राध्यापक डाक्टर प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले अघिल्लो साताको बुधवार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको थियो ।

प्रधानमन्त्री ओलीलाई भाञ्जी नाता पर्ने झापाकी समीक्षा संग्रैलाले मिर्गौला दिएकी हुन् । 

समीक्षा भने बुधवार नै डिस्चार्ज भइसकेकी छन् । उनी प्रधानमन्त्री ओलीसँगै अघिल्लो साताको सोमवार अस्पताल भर्ना भएकी थिइन् ।

डिस्चार्ज हुनुअघि समीक्षाले प्रधानमन्त्री ओलीलाई भेटेर स्वास्थ्य अवस्थाबारे  जानकारी समेत लिएकी थिइन् ।

ओलीले मिर्गौला प्रत्यारोपण गराएको यो दोस्रोपटक हो ।

पहिलोपटक उनले १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए ।

त्यतिबेला उनलाई बुहारी अञ्जान घिमिरेले मिर्गौला दिएकी थिइन् । 

उक्त मिर्गौलाले काम गर्न छाडेपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।

मोदीलाई मेन्सन गरेर अस्पतालको शय्याबाटै प्रधानमन्त्री ओलीको ट्वीट, गरे स्वागत
 

कोरोना भाइरसबाट बच्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरूले बलियो रणनीति तय गर्नुपर्ने आशयको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

मिर्गौला प्रत्यारोपणपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रत्यारोपण उपचार कक्षमा उपचाररत ओलीले त्यहीँबाट ट्वीट गर्दै भारतीय समकक्षी मोदीको विचारको स्वागत गरेका हुन् ।

'प्रधानमन्त्री मोदीद्वारा व्यक्त उन्नत विचारको म स्वागत गर्दछु, मेरो सरकार आफ्ना नागरिकलाई यस घातक बिमारीबाट बचाउनका लागि सार्क सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न तयार छ,' ओलीले लेखेका छन् ।

यसअघि ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले कोरोनासँग लड्नका लागि सार्क सदस्य राष्ट्रहरू एकजुट हुनुपर्ने उल्लेख गरेका थिए ।

'म प्रस्ताव गर्न चाहन्छु कि सार्क राष्ट्रहरूको नेतृत्वले कोरोनाभाइरससँग लड्न कडा रणनीति बनाउनु पर्छ,' मोदीले लेखेका छन्, 'हाम्रा नागरिकहरू स्वस्थ राख्नका लागि हामी भिडियो कन्फरेन्सिङमार्फत छलफल गर्न सक्छौं । सँगै, विश्वलाई स्वस्थ राख्न हामी विश्वका लागि एक उदाहरण बन्न सक्छौं ।'

मोदी सरकारले यसअघि सार्कलाई खासै प्राथमिकता दिने गरेको थिएन, यतिबेला मोदीले सार्क सम्झनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भारतले ४ वर्षअघि पाकिस्तानको इस्लामावादमा हुने तय गरिएको सार्कको १९ औं शिखर सम्मेलनमा उपस्थित हुन नसक्ने जानकारी गराएको थियो ।

त्यसयता सार्कको शिखर सम्मेलन हुन सकेको छैन ।

सेक्युरिटी प्रेस खरिद : जीटुजी रद्द गर्न लेखाको निर्देशन, लागत बढाउनेमाथि कारवाही सिफारिश

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले जीटुजी (सरकार र सरकारबीच सम्झौता) मोडलबाट सेक्युरिटी प्रेस खरिदसम्बन्धी प्रक्रिया रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । 

जीटुजीबाट खरिद गर्दा लागत बढाएर आर्थिक अनियमितताको चलखेल भएको लेखा समितिको ठहर छ । 

संसद् सचिवालय सिंहदरवारमा शुक्रवार बसेको समिति बैठकले सञ्चार मन्त्रालयले अगाडि बढाएको सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिने निर्णय गरेको समिति सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए । 

पटक–पटकको छलफलपछि लेखाले शुक्रवार ४ बुँदे निर्णय गर्दै अगाडि बढेको खरिद प्रक्रिया रोक्न निर्देशन दिएको हो ।

‘जीटुजीमार्फत अहिले शुरू भएको खरिद प्रक्रिया रद्द गर्ने र ग्लोबल टेन्टरमार्फत खुला प्रतिस्पर्धाबाट खरिद प्रक्रिया शुरू गर्न निर्देशन दिने निर्णय भएको छ,’ पाण्डेले लोकान्तरसँग भने । 

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा कमिसन डिल गरेको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा गरेका थिए । 

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा अनियमितताको आशंकामा लेखा समितिले लामो समयदेखि छानबिन गरिरहेको थियो । 

समितिले जीटुजी खरिद प्रक्रियाबारे अर्थमन्त्री, मुख्यसचिव र सार्वजनिक खरिद अनुगमन कार्यालयसँग छलफल गर्ने समेत निर्णय गरेको छ । 

लेखाले सेक्युरिटी प्रेसको लागत बढाउनेमाथि कारवाही गर्न अख्तियारलाई सिफारिश समेत गरेको छ ।

गलत डकुमेन्ट राखेर अवास्तविक लागत निकाल्ने दोषीउपर छानबिन गर्नुपर्ने लेखाको ठहर छ । 

सरकारले मेसिन रिनेबल पासपोर्ट (एमआरपी), लाइसेन्स, राजस्वका स्टिकरलगायत सुरक्षण सामाग्री खरिदका लागि नेपालमा सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापान गर्ने निर्णय गरेको थियो ।

सरकारले भन्यो– ग्यास अभाव हुँदैन, आवश्यकता भन्दा बढी होल्ड नगर्नूस् ! 

सरकारले आवश्यकता भन्दा बढी ग्यास मौज्दात नराख्न उपभोक्ताहरूलाई अपिल गरेको छ ।

बजारमा आपूर्ति सहज गर्न यस महिना निगमबाट नियमित खपतका लागि अतिरिक्त ११ हजार मेट्रिक टन ग्यास आयातको प्रकियामा रहेकाले बजारमा ग्यासको अभाव नहुने सरकारको जिकिर छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै विगतमा झैं नियमित तबरले उपभोग्य वस्तुहरू उपभोग गर्न समेत अपिल गरेको छ ।

विश्वभर कोरोना भाइरसको सन्त्रास फैलिरहेका बेला बजारमा सम्भावित अभावलाई मध्यनजर गर्दै उपभोक्ताहरूले उपभोग्य वस्तु होल्ड गर्न थालेका छन् ।

ग्यासलगायत कतिपय महत्त्वपूर्ण वस्तुको अभाव देखिन शुरू भइसकेको छ ।

कोरोनाबारे सरकारको १० बुँदे अत्यन्त जरुरी सूचना, विदेशीलाई स्थलमार्गबाट आउन प्रतिबन्ध

महामारी घोषणा भएको कोभिड–१९ भाइरसबाट बचाउका लागि नेपालको अध्यागमन विभागले शुक्रवार एक जरुरी सूचना जारी गरेको छ ।

सूचनाका १० बुँदामा विदेशबाट आउने नेपाली र विदेशी दुवैका लागि विभिन्न निर्देशन दिइएको छ ।

विभागका अनुसार शनिवारदेखि चैत १७ गतेसम्मका लागि सबै किसिमका अनअराइभल भिसा स्थगित गरिएको छ ।

नेपाल आउनका लागि वैध भिसा लिएर बसिरहेका विदेशीले नेपाल आउनुभन्दा ७ दिनअघि जारी भएको स्वाब परीक्षणको स्वास्थ्य प्रमाणपत्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन विभागमा बुझाउनुपर्नेछ । 

नेपाल आउने अत्यावश्यक काम परेका विदेशी नागरिक र गैरआवासीय नेपालीहरूले नेपालका कूटनीतिक नियोगबाट अनुमति लिनुपर्नेछ । 

गैरआवासीय नेपालीलाई दिइँदै आएको अनअराइभल भिसा पनि माथि उल्लेखित अवधिका लागि रद्द गरिएको छ ।

शनिवारदेखि नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा अनि विदेशमा बसेर नेपाल आएका नेपालीले होम क्वारेन्टाइनमा १४ दिनसम्म बस्नुपर्नेछ ।

कूटनीतिक वा आधिकारिक भिसा लिएर पहिलोपटक नेपाल प्रवेश गर्ने विदेशीहरूले अनि विदेश गएर आएका नेपालीहरूले १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्नेछ ।

सबै नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक विदेशको यात्रा नगर्न र यात्रा गर्दा पनि बचाउको सम्पूर्ण तयारी गरेर मात्र गर्न आग्रह गरिएको छ । 

उक्त अवधिमा तेस्रो मुलुकबाट आउने विदेशीहरूलाई स्थलमार्ग सीमा नाका हुँदै आउन प्रतिबन्ध लगाइएको छ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आउन अनुरोध गरिएको छ ।

यस सिजनका लागि पर्वतारोहणका लागि दिइएको सबै अनुमति रद्द गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्