०४ असार २०८३, बिहीबार

बालुवाटारमा चिकित्सकको निगरानीमै रहन्छन् प्रधानमन्त्री ओली

चैत १, २०७६
बालुवाटारमा चिकित्सकको निगरानीमै रहन्छन् प्रधानमन्त्री ओली

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी ओली १२ दिनको अस्पताल बसाइपछि शुक्रबार साँझ सरकारीनिवास बालुवाटार फर्किएका छन् । १९ फागुनमा महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना भएका उनको २१ फागुनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

डिस्चार्ज भए पनि संक्रमणको जोखिम अझै रहेको भन्दै चिकित्सकले प्रधानमन्त्री ओलीलाई सचेत गराएका छन् । ‘अहिले उहाँ (प्रधानमन्त्री)का सबै सूचकहरू राम्रो अवस्थामा छन्,’ उनले भनिन्, ‘डिस्चार्ज भए पनि समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । प्रधानमन्त्री नियमित चिकित्सकको निगरानीमै रहनुहुन्छ,’ प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहले भनिन् ।

आवश्यक सतर्कता अपनाएर नियमित काम गर्न सक्ने भए पनि सामान्य जीवनमा फर्किन भने प्रधानमन्त्री ओलीलाई ६ महिनादेखि एक वर्षसम्म लाग्ने डा. सिंहले बताइन् । ‘आवश्यक सतर्कता अपनाएर नियमित काम गर्न सक्ने अवस्थामा भने हुनुहुन्छ,’ उनले भनिन् । 

सामान्यतः मिर्गौला प्रत्यारोपण गरेको व्यक्ति पाँच दिनमा डिस्चार्ज हुन्छन् । तर, प्रधानमन्त्री ओलीमा संक्रमणको उच्च जोखिम भएको र बालुवाटारमा आइसोलेसन रुमको तयारी नभएकाले थप केही दिन अस्पतालमा राखिएको थियो । मिर्गौला दाता समीक्षा संग्रौला ज्ञवालीलाई भने बुधबार नै डिस्चार्ज गरिएको थियो । 

प्रधानमन्त्री ओलीको १२ वर्षअघि ०६४ मा पहिलोपटक भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिवेला उनलाई चितवननिवासी भाइबुहारी अञ्जना घिमिरेले मिर्गाैला दान दिएकी थिइन् । त्यही मिर्गौलामा समस्या आएपछि दोस्रो पटक प्रत्यारोपण गरिएको हो । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्