०५ साउन २०८३, मंगलबार

हेल्थ डेस्कमा कर्णालीका मुख्यमन्त्रीको ‘छापामार’ शैलीको अनुगमन

चैत १, २०७६
हेल्थ डेस्कमा कर्णालीका मुख्यमन्त्रीको ‘छापामार’ शैलीको अनुगमन

विश्वलाई नै आतंकित पारिरहेको कोरोना भाइरसबाट बच्न गरिएको तयारीबारे बुझ्न शनिवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘छापामार’ शैलीमा भेरीगंगा नगरपालिका–५ बबई र प्रदेश अस्पताल कालागाउँमा अनुगमन गरेका छन् ।

अनुगमनस्थलमा कसैलाई थाहै नदिई विभागीय मन्त्रालयलाई समेत ढिलो मात्रै जानकारी दिएर मुख्यमन्त्री शाही हेल्थ डेस्कको अवस्था बुझ्न बबई पुगे ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर भित्रिने प्रमुख नाकाको रुपमा रहेको बबई पुल नजिकै फागुन २६ गतेदेखि निरन्तर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा निर्देशनालयले हेल्थ डेस्क नै स्थापना गरी जाँच गर्दै आइरहेको छ । दैनिक रुपमा २५ सयदेखि ३ हजारभन्दा बढी यात्रुलाई जाँच गर्ने गरिएको छ ।

‘हिजो नै मैले खबर गरेको भए थप तयारी गर्नुहुन्थ्यो होला । जाँच प्रक्रियालाई व्यवस्थित गर्ने थिए होलान् तर मलाई वास्तविकता पत्ता लगाउनु थियो । त्यसैले तपाईले भने जस्तै छापामार शैलीमा नै गएँ,’ उनले भने, ‘कहाँ के अभाव छ ? कसरी डेस्कलाई व्यवस्थापन गर्न सकिन्छ र कर्णालीमा कोरोनालाई कसरी प्रवेश गर्न रोक्न सकिन्छ भन्ने कुराको जानकारी लिन र उपाय अवलम्बन गर्न म यहाँ आएको हुँ ।’

बबईमा २ वटा शौचालय बनाउन, चौविसै घण्टा स्वास्थ्य जाँच गर्न, ब्यारेल नै निर्माण गर्न र कर्मचारी थप गर्न उनले निर्देशन समेत दिए । ‘कोरोनालाई कर्णाली प्रदेशमा प्रवेश नै गर्न नदिने गरी अघि बढनुस् । मोटरसाइकल सवार होस् वा अन्य कुनै सवारीमा आवतजावत गर्ने नागरिक होउन्, सबैलाई कडा निगरानीका साथ जाँच गर्नुस् । शंका लागेको खण्डमा तत्काल जाँच र उपचारमा ध्यान दिनुस्,’ मुख्यमन्त्री शाहीले भने, ‘विकसित देश नै तनावमा भएका बेला हामीले चाहेर पनि नियन्त्रण गर्न समस्या हुनेछ । त्यसका लागि कोरोनालाई प्रवेश गर्न नदिनु नै हाम्रो लागि सबैभन्दा सजिलो उपाय हो ।’

भारतका विभिन्न स्थानमा नेपाली युवा रोजगारका लागि जाने गरेको बताउँदै उनले अब ती युवा फर्किने क्रम शुरू हुने हुँदा विशेष ख्याल गर्नुपर्ने मुख्यमन्त्री शाहीले बताए । 

बबई अनुगमनपश्चात मुख्यमन्त्री शाही सोझै प्रदेश अस्पताल कालागाउँमा आइसोलेसन बेड र क्वारेन्टाइन व्यवस्थापनको अनुगमन गर्न पुगे । प्रदेश अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले अस्पतालमा ५ वटा आइसोलेसन बेड तयार अवस्थामा राखिएको मुख्यमन्त्री शाहीलाई देखाए । 

मुख्यमन्त्री शाहीले कम्तिमा २०० जनालाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाएर राख्न निर्देशन दिए । मुख्यमन्त्री शाहीले भने, ‘कोरोना आतंकबाट नागरिकलाई जोगाउन जति सकिन्छ उपाय अपनाउनुस्, बजेटको कुनै पनि चिन्ता नमान्नुस् ।’

salt training

कमेन्ट गर्नुहोस्