०६ साउन २०८३, बुधबार

राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ

साउन ५, २०८३
काठमाडौं
राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ

निट परीक्षामा भएको अनियमिततालाई लिएर भारतीय प्रधानमन्त्री निवास बाहिर प्रदर्शन गरिरहेका कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी र सपा प्रमुख अखिलेश यादव लगायतका शीर्ष नेताहरूलाई प्रहरीले हिरासतमा लिएको छ। 

मंगलबार अपराह्न ३:३० बजेदेखि धर्नामा बसेका नेताहरूलाई करिब ३ घण्टापछि प्रहरीले पक्राउ गरेको हो । 

प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र निट मुद्दामा संसदमा तत्काल छलफलको माग गरेका थिए । सरकारका तर्फबाट केन्द्रीय मन्त्री जितेन्द्र सिंह र गृह सचिवले राहुल गान्धीसँग दुई पटक वार्ता गरे पनि सहमति हुन सकेन। राहुल गान्धीले संसदमा छलफलसँगै शिक्षा मन्त्रीको राजीनामालाई मुख्य सर्त बनाएका थिए।

वार्ता विफल भएपछि परिचालन भएका १०० भन्दा बढी सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले राहुल गान्धीलाई हातखुट्टा समातेर उठाएर बसमा हालेको थियो ।

प्रियंका गान्धी र अखिलेश यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा पठाएको छ। यस क्रममा प्रहरीले लाठीचार्ज समेत गरेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । 

कमेन्ट गर्नुहोस्