काठमाडौं, ७ वैशाख– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिला झापामा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज ‘शक्ति प्रदर्शन’ गर्ने भएका छन् ।
स्थानीय चुनावको मिति नजिकिँदै जाँदा प्रधानमन्त्रीको पार्टी माओवादीले झापाको विर्तामोडमा आज जनप्रदर्शन गर्न लागेको हो । जनप्रदर्शनसहितको कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड विर्तामोड जाँदै छन् ।
नेकपा एमालेले आफ्नो ‘गढ’ भन्ने गरेको झापामा आयोजना हुने कार्यक्रमलाई सबै प्रकारले ‘विशेष’ बनाउने तयारी भइरहेको माओवादी केन्द्रले जनाएको छ । माओवादीको भातृ संगठन वाइसिएल र अखिल क्रान्तिकारीले आयोजना गर्न लागेको जनप्रदर्शनमा बीस हजार युवा विद्यार्थी उतारिने अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।
कार्यक्रमलाई प्रधानमन्त्री प्रचण्डसहित संचामन्त्री सुरेन्द्र कार्की, पुर्व मन्त्री गोपाल किराँतीलगायतले सम्बोधन गर्ने तय भएको छ ।
७ वटा निर्वाचन क्षेत्र रहेको झापामा २०७० मंसिरमा सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा एमालेले ३ निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो भने नेपाली कांग्रेसले ४ निर्वाचन क्षेत्रमा जित हासिल गरेको थियो ।
यसअघि मंगलबार (वैशाख ५ गते) नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि झापा पुगेका थिए । नेपाली कांग्रेसले चुनावलाई मध्यनजर गरी प्रदेशस्तरमा आयोजना गरेको आमसभालाई समापन गर्न देउवा मंगलबार झापा पुगेका थिए ।