
प्रम ओली र प्रचण्डबीच भेटवार्ता, सल्लाहकार संयन्त्रसँग लिए ‘बिफ्रिङ’
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।
त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार मात्र डिस्चार्ज भएका प्रम ओलीलाई भेट्न प्रचण्ड शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। भेटमा प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए।
सो क्रममा प्रचण्डले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।
यसैबीच ओलीलाई उनको सल्लाहकार संयन्त्रमा रहेका सदस्यहरुले समेत भेटघाट गरेका छन्। सो क्रममा उनीहरुले समसामयिक राजनीतिक अवस्थाबारे विफ्रिङ गरेका थिए।
सादा पोशाकमा कार्यरत ७४ प्रहरी एकैसाथ सशस्त्र प्रहरी गण महाराजगञ्जमा
महानगरीय प्रहरी परिसर काठमाडौं, ललितपुर र भक्तपुर तथा मातहत समेतमा लामो समयदेखि सादा पोशाकमा कार्यरत रहेका तथा उल्लेखनीय कार्य गर्न नसकेका १७ अधिकृत ५७ जवान समेत ७४ अधिकृत तथा जवानलाई तोकिएको सादा पोशाकको जिम्मेवारीबाट हटाई महानगरीय सशस्त्र प्रहरी गण महाराजगञ्जमा पठाइएको छ ।
प्रहरीको आचरण व्यवहार सुधार गर्ने तथा प्रहरीप्रति लागेको लान्छना मेटाउने र जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले सुधारको कार्य गरिएको हो ।
आचरण व्यवहार सुधारको हिसावले पठाइएका उल्लेखित अधिकृत तथा जवानहरूलाई महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा ७ दिने सुधारात्मक तालिम समेत सञ्चालन गरिने छ ।
यसपछि अब इन्टेलिजेन्टका रुपमा कार्यरत हुने कर्मचारीमा सकारात्मक आचरण व्यवहार मात्र नभएर तोकिएको जिम्मेवारीभित्र रहेर परिणाममूखी कार्यको हरेक महिना मूल्याकंन हुने परिपाटीको थालनी गरिने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताए ।
सादा पोशाकमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरू मूलतः प्रतिबन्धित समूहको गतिविधि नियन्त्रण तथा जघन्य प्रकृतिका अपराध नियन्त्रण, रोकथाम र अनुसन्धानमा मात्र परिचालित हुने समेत उनले बताए ।
सरकारको आग्रह बजारले सुनेन, ग्यास आपूर्ति सहज हुन अझै १ हप्ता लाग्ने
कोभिड–१९ (कोरोना) भाइरसको संक्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशंका बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं उपभोक्ताको रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्केका छन् ।
विपद्को समयमा उपभोग्य वस्तुको अभाव देखाएर उपभोक्ता ठग्ने प्रवृत्ति बढ्न नदिन मन्त्री भट्टले गरेको प्रयासलाई लिएर सर्वत्र सकारात्मक टिप्पणी भइरहेको छ ।
उनी वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी सहितको टोलीलाई लिएर बजार अनुगमनमा निस्केका हुन् । उनीहरूले फागुन अन्तिम सातादेखि नै राजधानी काठमाडौंको विभिन्न स्थानको स्थलगत अनुगमन गरी उपभोक्ता तथा बिक्रेताको समस्या तथा बजारमा उपभोग्य वस्तुको अवस्थाबारे जानकारी लिइरहेका छन् ।
कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको भन्दै मनोवैज्ञानिक त्रास बढेपछि आपूर्ति व्यवस्थामा कुनै पनि समस्या नरहेको जानकारी दिने लक्ष्यसहित आफूहरू बजार अनुगमनमा परिचालित भएको मन्त्री भट्टको भनाइ छ । बजारलाई सन्तुलित बनाउन राज्यका तर्फबाट चाल्नुपर्ने र गर्ने सबै उपाय अपनाउने लक्ष्यसहित लागि परेको उनको भनाइ छ ।
यद्यपि बजारमा सामान्य अवस्थामा २० रुपैयाँमा पाइने नून व्यापारीले मूल्यवृद्धि गरी प्रतिप्याकेट २५ देखि ३० लिएको पाइएको छ । सरकारले उपभोक्तालाई आपूर्ति प्रणालीमा कुनै समस्या अनाएकाले नआत्तिन र अनावश्यकरुपमा भण्डारण नगर्न समेत आग्रह गरिरहेको छ ।
बजारमा इन्धनको अभाव नहोस् भनेर सरकारले नेपाल आयल निगमलाई मागअनुसार नै पेट्रोलियम पदार्थको आयात गर्न सहजीकरण गरिरहेको छ ।
सरकारले एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नहुने दोहोर्याइरहँदा अनावश्यक मौज्दात राख्ने उपभोक्ताको चाहनाले ग्यासको उपलब्धतामा केही समस्या देखिएको छ । पछिल्ला केही दिनयता निगमले बजारको बढ्दो मागलाई ध्यानमा राखी ग्यास आयातमा भारी वृद्धि गरेको छ ।
ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिक टन पुर्याएको छ । अहिले एलपी ग्यासको औषत मासिक खपत ३८ हजार मेट्रिक टन रहेको छ ।
राजधानी काठमाडौंमा बढी गुणस्तरीय मानिएको नेपाल ग्यासमा भने बढी दबाब परेको छ । सहज रुपमा पाइने भएकाले पनि नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको हो । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै संकट व्यहोर्नुपर्ने त्रासका कारण २ भन्दा बढी सिलिण्डर भण्डारण गरेका छन् । नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारी कोरोना भाइरसका कारण ग्यासको अभाव हुनसक्ने आशंकामा सर्वसाधारणले घरघरमा भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको बताउँछन् ।
‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ,’ उनी भन्छन्, ‘१ सातामा बजारमा देखिएको हाहाकार समाप्त हुन्छ ।’ नेपालभर दैनिक १ लाख सिलिण्डर खपत हुने गरेको छ । अहिले सोही परिमाणमा ग्यासको आयात भइरहेको छ । फागु पूर्णिमाका कारण नेपाल र भारतका भन्सार लगातार ५ दिन बन्द हुँदा ग्यास बुलेट भन्सार पास हुन नसक्दा केही अभावजस्तो देखिएको अध्ययक्ष भण्डारीको भनाइ छ ।
‘होली पर्वको आसपासमा नेपालमा ३ दिन सार्वजनिक बिदा र भारतमा २ दिन सार्वजनिक बिदा हुँदा भन्सार जाँचपास हुन नसक्दा समस्या भएको हो,’ उनले भने । नेपालमा हाल विभिन्न ५८ ग्यास उद्योग छन् ।
ग्यासको आयात बढाएका छौं : निगम
नेपाल आयल निगमले बजारको माग नुसार नै पर्याप्त ग्यासको आपूर्ति भइरहेकाले ग्यासको कुनै अभाव नहुने जनाएको छ । अनावश्यक ग्यास सिलिण्डर खरिद गरी राख्ने प्रवृत्तिले गर्दा बजार असन्तुलन हुन पुगेको निगमको भनाइ छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतले अभाव हुन्छ भन्ने त्रासका कारण सर्वसाधारणले ग्यास भरेको सिलिण्डरको मौज्दात राख्न खोज्दा केही समस्या देखिएको बताए ।
उनले ग्यासको आपूर्तिमा कुनै समस्या नभएको र पछिल्ला दिनमा ग्यासका आयात बढाइएको बताए । ‘हामीले उद्योगीलाई भनेका छौं, माग अनुसारको ग्यास ल्याउनुहोस्,’ उनले भने, ‘उद्योगीको माग अनुसार ‘पर्चेज डेलिभरी अर्डर’ निगमले दिइरहेको छ ।’
पछिल्ला ४ दिनमा विराटनगर भन्सारबाट विभिन्न कम्पनीका ६६ बुलेट नेपाल भित्रिएका छन् । यस्तै झापाको काँकडभिट्टा भन्सारबाट पनि २२ बुलेट नेपाल छिरेका छन् । यस्तै फागुन २९ र ३० गते वीरगन्ज भन्सारबाट २१० बुलेट ग्यास बोकेर नेपाल आएका निगमले जनाएको छ । २ दिनमा काठमाडौं उपत्यकामा बजार रहेका कम्पनीका ९१ बुलेट र उपत्यका बाहिरका विभिन्न कम्पनीको ११९ बुलेट नेपाल आएका छन् ।
नयाँ सिलिण्डर नथुपार्न निगमको आग्रह
अभाव हुने त्रासका कारण उपभोक्ताको तर्फबाट ग्यासको खरिद अधिक भएपछि निगमले नयाँ सिलिण्डर किनेर नथुपार्न सर्वसाधारणमा आग्रह गरेकोे छ । निगमले अनावश्यक सिलिण्डर राख्दा बजार असामान्य हुने, दुर्घटनाको सम्भावना बढ्ने हुँदा आफ्नो दैनिक आवश्यकता परिपूर्तिका लागि मात्र ग्यास गरिद गर्न आग्रह गरेको हो । एलपी ग्यास खरिद गर्दा नयाँ सिलिण्डर खरिद नगरी आफूसँग भएको खाली सिलिण्डर फिर्ता गरी ग्यास खरिद गर्न निगमले उपभोक्तालाई अनुरोध गरेको छ । – रमेश लम्साल, अशोक घिमिरे/रासस
‘ज्यानमारा’ मदिराको कर्तुत : ३ दिनमा ८ जनाको मृत्यु, ६ गम्भीर बिरामी, ७ पक्राउ
होली पर्वको अवसरमा अत्यधिक मदिरा सेवन गरेर धनुषामा पछिल्ला ३ दिनमा ८ जनाको मृत्यु भएको छ भने गम्भीर बिरामी भएर ६ जना उपचारमा छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रामेश्वर कार्कीले मृतकको संख्या ८ जना मात्रै रहेको जनाएका छन् ।
डीएसपी कार्कीका अनुसार फागुन २९ गते धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ३५ वर्षीय ब्रह्मदेव यादव, ४० वर्षीय रामविलास मण्डल र ६५ वर्षीय गुदरी महराको मृत्यु भएको हो ।
फागुन ३० गते वडा नम्बर १ बस्ने ३६ वर्षीय रामनारायण महरा, २७ वर्षीय इन्द्रजित महरा, ४७ वर्षीय शत्रुधन मण्डल, जनकपुरधाम उपमहानगरपालिका–२० को देवपुरा रुपैठाका ३० वर्षीय राजु महराको मृत्यु भएको हो । रमदैयाका बेचन महराका छोरीज्वाइँ रहेका राजु महराको ससुराली घरमा आएको बेला मदिरा सेवन गरेर मृत्यु भएको हो । चैत्र १ गते रमदैयाका ६५ वर्षीय श्रीदेव यादवको समेत मृत्यु भएको छ । सरकारी समाचार संस्था राससले ११ जनाको मृत्यु भएको समाचार प्रेषित गरेपनि स्थानीय प्रहरीले भने ८ जनाको मात्रै मृत्यु भएको पुष्टि गरेको छ ।
डीएसपी कार्कीका अनुसार अत्यधिक मदिरा सेवन गरेर गम्भीर घाइते भएका ६ जनाको रम्दैयास्थित जानकी मेडिकल कलेज र जनकपुरको सोही मेडिकल कलेजका सिटी अस्पतालमा उपचार भइरहेको छ । रम्दैयाका २३ वर्षीय प्रदिप सदा, ३७ वर्षीय राम इश्वर महरा, ५० वर्षीय भरत मण्डल, ४४ वर्षीय मनिर नदाफ, ५० वर्षीय सिताराम यादवको उपचार जारी रहेको छ ।
अनुसन्धानको क्रममा गाउँ तथा क्षेत्रमा अवैध मादक पदार्थसहित रक्सी बेचबिखन गर्ने ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कार्कीले बताए । महोत्तरीको भंगहा नगरपालिका–३ सखरी टोलका ४७ वर्षीय जगत नारायण मण्डल, धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–६ को बगेवा गाउँका २४ बर्षिय नविन यादव, ५० वर्षीय घुरन यादव, क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैया बस्ने ४५ वर्षीया तारापट्टीबाली भनिने छटियादेवी मण्डललाई पक्राउ गरिएको छ ।
रमदैयाकै ४१ वर्षीय जयकुमार यादव, ४८ वर्षीय रामनन्दन साह, जनकपुरधाम उपमहानगरपालिका–१४ रजौल बस्ने ३५ वर्षीया शितलदेवी यादवलाई समेत पक्राउ गरिएको छ ।
अवैध विषाक्त घरेलु मदिरा सेवन गरेका कारण नै स्थानीयको मृत्यु भएको बताइएको छ तर मृत्युको वास्तविक कारण के हो भन्नेबारे अनुसन्धान जारी नै रहेको डीएसपी कार्कीले बताए ।
शिक्षामन्त्री पोखरेललाई कोरोना भाइरसको डर, पूर्व निर्धारित कार्यक्रम नगरी फिर्ता
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किएका छन् ।
शनिवार उनले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा भवनको उद्घाटन नगरेका जनाइएको छ ।
सो अवसरमा उनले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामा समेत गर्ने तयारीमा रहेको जानकारी दिए । उनले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गरे ।
मेरा खुट्टा परालका होइनन् : नेता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली कांग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताएका छन् ।
नेपाल प्रेस युनियनले शनिवार गोरखामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले पार्टीले संसद् र सडकमा प्रतिपक्षले खेल्नुपर्नेमा भूमिका निर्वाह गर्न नसकेको बताए ।
न्द्रीय सदस्य कोइरालाले भने, ‘संसद्मा प्रतिपक्षको आवाज नै सुनिएको छैन । सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुरा आएको छ । सरकार त मौन हुनु स्वाभाविक नै हो । संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्ने हो तर त्यो पनि सुनिएन । लोकतन्त्रमा प्रतिपक्षको आवाज नसुनिनु डरलाग्दो विषय हो ।’
केन्द्रीय समितिको बैठक नबस्दा आफूहरूले पार्टीका समस्या समाधान लागि विचार राख्ने ठाउँ नै नपाएको र कांग्रेस अहिले भागबण्डामा अल्झिएर बसेको नेता कोइरालाले बताए । ‘पार्टीभित्र कुरा गर्ने भनेको केन्द्रीय समितिभित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ?’ उनले सोधे ।
कोइरालालाई पार्टी सभापतिको उम्मेदवार हो कि होइन भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘मेरा खुट्टा परालका होइनन् भन्ने बुझ्नुपर्छ, अहिले स्पष्ट कसरी भनुँ, कार्यकर्ता के चाहन्छन् भनेर अहिले म त्यो बुझ्दैछु ।’
सरकारलाई बाबुरामको प्रश्न : परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ?
पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोनाको जोखिम रहेकाले केही समयका लागि विद्यालय बन्द गर्न सरकारसँग माग गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को प्रकोप विश्वभर फैलिएको भन्दै उनले सरकारले विद्यालय बन्द गर्न हेलचेक्याईं गर्न नहुने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा शनिवार ट्वीट गर्दै छोराछोरीको जीवन प्रमुख कि परीक्षा भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘कोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिनरहप्ता बन्द गर्न किन हेलचेक्र्याइँ गरेको हो ? छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको ध्यान जाला ?'