
विवादमा परेको अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदनबारे सभामुख अग्नि सापकोटाले अमूर्त जवाफ दिएका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा सोमवार पत्रकारसँगको अन्तर्क्रियामा सभामुख सापकोटाले एमसीसीबारे सत्तारुढ दलबीच नै छलफल चलिरहेकाले सहमति भएपछि मात्र अघि बढ्ने बताए ।
‘सत्तारुढ पार्टी, त्यसका सांसदहरूले पारित गर्नुपर्ने विषय भएकाले सत्तारुढ पार्टी, दलका नेता उपनेता, सचेतक सबैको सहमतिले एजेन्डा अगाडि बढाउने कुरा भयो । सत्तारुढ पार्टीमा झन् छलफल भइरहेको छ,’ सापकोटाले भने, ‘कोरोनाका कारणले यतातिर बहस केन्द्रित भएपनि त्यो (एमसीसी) बहसमै छ ।’
यसअघि फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन विषय भएकाले सभामुखले अगाडि बढाउनासाथ एमसीसी अनुमोदन हुने बताएका थिए । एमसीसीबारे अध्ययन गर्न नेकपाले कार्यदल नै गठन गरेको थियो ।
उपसभामुखको निर्वाचनबारे सोधिएको प्रश्नमा पनि सभामुख सापकोटाले सत्तारुढ दलसँग सहमति भएपछि अगाडि बढाउने बताए । ‘सत्तारुढ दलका उपनेतासँग छलफल भइरहेको छ, उहाँहरूले सहमति गरेपछि कार्यतालिका प्रकाशित गर्छु,’ सापकोटाले भने ।
गत साउन महिनामा संसद सचिवालयमा दर्ता भएको एमसीसीको प्रस्ताव सत्तारुढ दलकै विमतिका कारण अगाडि बढ्न सकेको छैन । संसदको चालू हिउँदे अधिवेशनमै अनुमोदन गराउने सरकारको रणनीति छ । जेठ १५ गते बजेट र त्यसअघि सरकारका नीति तथा कार्यक्रम र संसदमा ‘प्रि–बजेट डिस्कस’ गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन चैत अन्तिम साता वा वैशाख पहिलो सातासम्म सक्ने सचिवालयको तयारी छ ।