
चिनियाँ राष्ट्रपति शी चिनफिङ र भारतका लागि चीनका राजदूत सुन वेडोङविरुद्ध कोरोना भाइरस फैलाएको भन्दै भारतमा मुद्दा दर्ता भएको छ ।
अधिवक्ता सुधिरकुमार ओझाले मुजफ्फरपुर अदालतमा चिनियाँ राष्ट्रपति र भारतका लागि चीनका राजदूतविरुद्ध मुद्दा दर्ता गरेका हुन् । यस मुद्दाको अप्रिल ११ मा मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा सुनुवाई हुनेछ ।
ओझाले गरेको उजुरीमा दुवैले कोरोनाभाइरस फैलाउने षडयन्त्र रचेको आरोप लगाएका छन् ।
कोरोना भाइरसलाई लिएर पश्चिमा देशको तारो बनिरहेको चीनविरुद्ध भारतमा पनि नकारात्मक धारणा फैलिएको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर १७ विदेशी नागरिकसहित १ सय १० जनामा कोरोनाको संक्रमण भएको छ ।
गत वर्षको डिसेम्बरमा चीनको वुहान शहरमा शुरु भएको कोरोनाभाइरस अहिलेसम्म १ सय ५० भन्दा बढी देशहरूमा फैलिएको छ । १ लाख ३० हजार भन्दा बढीमा कोरोनाको संक्रमण फेला परिसकेको छ भने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर महामारीको घोषणा गरिसकेको छ ।