
तनहुँको देवघाट गाउँपालिका–५ निवासी ३३ वर्षीया दूर्गा पौडेलले आफ्नी १३ वर्षीया छोरी दीपासँगै पालिकास्तरीय परीक्षामा सहभागी भएर परीक्षा दिएकी छन् ।
उनले आफ्नी छोरीसँगै कालिका माध्यमिक विद्यालयबाट ८ कक्षाको परीक्षा दिएकी हुन् ।
‘मनभित्र चाहना र दृढ अठोट भए जस्तोसुकै काम पनि सफलता साथ पूरा गर्न सकिन्छ,’ शुक्रवारदेखि शुरू भएको परीक्षा दिँदै उनले भनिन्, ‘नयाँ पुस्तासँग आमाले सँगै परीक्षा दिँदा थप उत्साह मिलेको छ ।’
विक्रम संवत् २०५९ सालमा ७ कक्षा पास गरेकी उनलाई विवाह गरेको १६ वर्षपछिको समयमा बल्ल पढ्ने अवसर मिलेको छ । पहिलेदेखि नै पढ्न इच्छा भएपनि घरायसी व्यवहारले गर्दा उनले पढ्न पाएकी थिइनन् । उनले भनिन्, ‘पढ्नका लागि उमेरले फरक पर्दैन, पढ्नुपर्छ भनेर शुरू गरेको हुँ ।’
गरीबी र अर्थाभावका कारण गाउँमा पढ्ने अधिकांशको सानै उमेरमा बिहे हुने गरेको बताइएको छ । विद्यालयका सहायक प्रधानाध्यापक लालमणि पौडेलले महिलाका आ–आफ्नै किसिमका दुःख भएपनि दुर्गाको पढाइतर्फको लगनशीलता, रूचि र चासो देख्दा आफू अचम्मित भएको बताए । देवघाट–५ स्थित विद्यालयमा ३ सामुदायिक विद्यालयको गाउँपालिकास्तरीय ८ कक्षाको परीक्षा केन्द्र छ ।
देवघाट–५ का ३ सामुदायिक विद्यालय बज्रयोगिनी माविबाट ३०, कालिका माविबाट २७ र सिद्धमहाकाली माविबाट २० गरी ७७ विद्यार्थी परीक्षामा सहभागी छन् ।