
टिपरको ठक्करबाट आमा छोरीको मृत्यु, आक्रोशित भीडको ढुंगामुढामा परेर ५ प्रहरी घाइते
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोलेका श्रीमान् छिरिङ लामा भने वैदेशिक रोजगारको सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन् ।
टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये प्रहरी हबलदार दिलीप बुढाथोकीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
व्यापारीको यत्रो बदमासी : कालोबजारी गर्ने एउटै समूहबाट १० लाख मास्क बरामद
कोरोना भाइरसको संक्रमणको जोखिम रहेका बेला मास्क कालोबजारी हुन थालेपछि नेपाल प्रहरी त्यसविरुद्ध सक्रिय भएको छ ।
मास्क कालोबजारी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ५ जनालाई पक्राउ गरेको छ । उनीहरूबाट १० लाख ८ हजार थान मास्क र बा७च ७२६३ नम्बरको गाडी बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेमा ओखलढुंगा घर भई ललितपुर ईमाडोल बस्ने ३० वर्षीय टेकराम श्रेष्ठ, बारा गढीमाई घर भई काठमाडौं कपन बस्ने ३४ वर्षीय सञ्जय रेग्मी, चितवन रत्ननगर नगरपालिका घर भई काठमाडौं स्वयम्भू बस्ने २६ वर्षीय अजिम बक्स मियाँ, आरडिजी इन्टरनेसनल सप्लायर्सका सञ्चालक काठमाडौं महानगरपालिका–२३ बस्ने २४ वर्षीय सुरज गोयल र सोही सप्लायर्सका सञ्चालक भारत राजस्थान घर भई काठमाडौं बागबजार बस्ने ३७ वर्षीय सुवास महेश्वरी रहेका छन् ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस प्रकोपबाट जोगिन मास्क र स्यानिटाइजरको प्रयोग गर्न नागरिकलाई अनुरोध भइरहेको समयमा बजारमा दैनिक उपभोग्य तथा औषधिजन्य सामानको कृत्रिम अभाव खडा गरी कालोबजारी भइरहेको छ ।
विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनस्थित मिलनचोकबाट उनीहरूलाई आइतवार साँझ १ लाख ६८ हजार थान मास्क र सो बेच्न प्रयोग भएको उक्त सवारी साधन बरामद गरेको थियो ।
अनुसन्धानका क्रममा उनीहरूले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीस्थित घर भाडामा लिई आरडीजी इन्टरनेसनल सप्लायर्सका नाममा गोदाम सञ्चालन गरेको जानकारी प्राप्त भएपछि सो गोदाम आइतवार नै सिल गरिएको थियो । सोमवार जिल्ला प्रशासन कार्यालय र जनप्रतिनिधिको उपस्थितिमा सिल खोलेर हेर्दा थप ८ लाख ४० हजार थान मास्क बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरूले ३ रुपैयाँ २५ पैसा पर्ने मास्कलाई ३१ रुपैयाँ मूल्यमा बिक्री वितरण गर्न लागेको खुल्न आएको छ । उनीहरूलाई कालोबजारी तथा सामाजिक हित विरुद्धको अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ । यसअघि शुक्रवार र शनिवार पनि प्रहरीले झण्डै २ लाख मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो ।
पेट्रोल र डिजेलको मूल्य घट्यो, ग्याँसको यथावत
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम भएसँगै नेपालमा पनि मूल्य घटेको हो ।
सोमवार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६ रुपैयाँ कायम गरेको निगमले जनाएको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य भने ९५ कायम रहेको छ ।
एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ ।
इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोल र डिजेलको मूल्य घटेर आएको हुँदा पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली अन्तर्गत पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा २ रुपैयाँ घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कालापानी सीमा सम्बन्धी संकल्प प्रस्तावमा किन भएन छलफल ? सभामुखले खुलाए कारण
सभामुख अग्नि सापकोटाले समयको व्यवस्थापनका कारण कालापानीमा भारतीय पक्षबाट सीमा मिचिएकोबारे संसदमा दर्ता भएको संकल्प प्रस्तावमा छलफल हुन नसकेको बताएका छन् ।
समयको व्यवस्थापन गरेर सो प्रस्तावमा छलफल गराउने उनले बताए ।
सिंहदरबारस्थित संसद सचिवालयमा सोमवार पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले त्योभन्दा ठूलो संकल्प प्रस्ताव अरु हुन नसक्ने भन्दै अन्यथा सोच्नु नपर्ने बताएका हुन् ।
‘सीमा सम्बन्धी संकल्प प्रस्ताव अरु कुनै कारणले होइन, समयको व्यवस्थापनको कुरा पनि हो । पहिलो पटक एकैदिन २ वटा प्रस्तावमा छलफल गर्न समय नपुगेर हो, अर्कोदिन अलिकति समयको व्यवस्थापन नपुगेर हो । कुनै दिन छलफल हुन्छ, ड्यासबाटै भनिसकेको छु परिस्थितिको कारण हो । त्योभन्दा ठूलो संकल्प प्रस्ताव अरु हुनै सक्दैन, त्यसमा कुनै पनि अन्यथा छैन,’ सापकोटाले भने ।
नेकपा सांसद खगराज अधिकारीले दर्ता गराएको संकल्प प्रस्ताव फागुन २३ गते संसदको कार्यसूचीमा चढेर पनि छलफल हुन सकेको थिएन । त्यो दिन सांसद गगन थापाले दर्ता गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो ।
फागुन ३० गते शुक्रवार बस्ने बैठकको सम्भावित भनेर बिहीवार प्रकाशित कार्यसूचीमा समावेश गरिएपनि संकल्प प्रस्तावमा छलफलको कार्यसूची शुक्रवार हटाइएको थियो ।
संसदको कार्यसूचीबाट संकल्प प्रस्ताव हटाइएकोबारे राप्रपाका सांसद राजेन्द्र लिङदेनले संसदमै प्रश्न उठाएका थिए । कालापानी क्षेत्रबाट विदेशी सेना हटाउनुपर्ने, नेपाली भूभाग नेपालको नक्सामा कायम गर्नुपर्ने भन्दै सांसद अधिकारीले संसदमा संकल्प प्रस्ताव दर्ता गराएका छन् ।
कालोबजारीबाट बरामद गरेका मास्क तत्काल बेच्न प्रहरीलाई महान्यायाधिवक्ताको निर्देशन
व्यापारीले कालोबजारी गरेको भन्दै प्रहरीले बरामद गरेका मास्कलाई तत्काल बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन महान्यायाधिवक्ताको कार्यालयले निर्देशन दिएको छ ।
प्रहरी महानिरीक्षकलाई निर्देशन दिँदै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बृहद सार्वजनिक हित एवं जनस्वास्थ्यलाई ध्यानमा राखी मुद्दा हेर्ने अधिकारीको अनुमति लिई अविलम्ब बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन निर्देशन गरिएको छ ।
मास्क बिक्रीबापतको रकम प्रहरीको धरौटी खातामा राख्न समेत निर्देशन दिइएको छ । मुद्दाको किनारा नलाग्दासम्म बरामद सामग्री मुद्दासँगै मिसिलमा समावेश गर्नुपर्ने सामान्य प्रचलन भएपनि मुद्दाको अभियोजन गर्ने निकायको नेतृत्वकर्ता महान्यायाधिवक्ता कार्यालयले विशेष निर्देशन दिएको छ ।
‘बरामद मास्कहरू मुद्दाको कारवाहीको क्रममा मुद्दा हेर्ने निकायमा दशी स्वरुप पेश गर्दा बजारमा मास्कको अभाव भइरहने र अहिलेको विषम परिस्थितिमा त्यसको प्रयोग गर्न नसकिने अवस्था हुने हुँदा बिक्री गर्न कार्यालयले निर्देशन दिएको छ ।
एमसीसीबारे सभामुखको गोलमटोल जवाफ – सत्तारुढ दलले सहमति गरेपछि अगाडि बढाउँछु !
विवादमा परेको अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदनबारे सभामुख अग्नि सापकोटाले अमूर्त जवाफ दिएका छन् ।
सिंहदरबारस्थित संसद सचिवालयमा सोमवार पत्रकारसँगको अन्तर्क्रियामा सभामुख सापकोटाले एमसीसीबारे सत्तारुढ दलबीच नै छलफल चलिरहेकाले सहमति भएपछि मात्र अघि बढ्ने बताए ।
‘सत्तारुढ पार्टी, त्यसका सांसदहरूले पारित गर्नुपर्ने विषय भएकाले सत्तारुढ पार्टी, दलका नेता उपनेता, सचेतक सबैको सहमतिले एजेन्डा अगाडि बढाउने कुरा भयो । सत्तारुढ पार्टीमा झन् छलफल भइरहेको छ,’ सापकोटाले भने, ‘कोरोनाका कारणले यतातिर बहस केन्द्रित भएपनि त्यो (एमसीसी) बहसमै छ ।’
यसअघि फागुन ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विचाराधीन विषय भएकाले सभामुखले अगाडि बढाउनासाथ एमसीसी अनुमोदन हुने बताएका थिए । एमसीसीबारे अध्ययन गर्न नेकपाले कार्यदल नै गठन गरेको थियो ।
उपसभामुखको निर्वाचनबारे सोधिएको प्रश्नमा पनि सभामुख सापकोटाले सत्तारुढ दलसँग सहमति भएपछि अगाडि बढाउने बताए । ‘सत्तारुढ दलका उपनेतासँग छलफल भइरहेको छ, उहाँहरूले सहमति गरेपछि कार्यतालिका प्रकाशित गर्छु,’ सापकोटाले भने ।
गत साउन महिनामा संसद सचिवालयमा दर्ता भएको एमसीसीको प्रस्ताव सत्तारुढ दलकै विमतिका कारण अगाडि बढ्न सकेको छैन । संसदको चालू हिउँदे अधिवेशनमै अनुमोदन गराउने सरकारको रणनीति छ । जेठ १५ गते बजेट र त्यसअघि सरकारका नीति तथा कार्यक्रम र संसदमा ‘प्रि–बजेट डिस्कस’ गर्नुपर्ने भएकाले हिउँदे अधिवेशन चैत अन्तिम साता वा वैशाख पहिलो सातासम्म सक्ने सचिवालयको तयारी छ ।