
प्रदेशसभा गठनको २ वर्षपछि २ नम्बर प्रदेशको नाम र राजधानी तोक्न प्रदेश सभामा मंगलवार मतदान हुँदैछ ।
मतदानअघि प्रदेश सभामा गरमागरम बहस भइरहेको छ । मंगलवार बसेको प्रदेशसभा बैठकमा राजनीतिक दलले आफूले राखेको प्रस्तावको पक्षमा अडान राखेका छन् ।
राजधानी जनकपुर कायम गर्ने प्रस्तावमा नेकपा, राजपा, समाजवादी र कांग्रेसको एउटै प्रस्ताव छ । नामबारे फरक–फरक धारणा छ । नेकपाले जानकी प्रदेश नाम राख्न प्रस्ताव गरेको छ भने कांग्रेसले मिथिला भोजपुरा राख्न प्रस्ताव गरेको छ ।
छलफलमा भाग लिँदै समाजवादी पार्टीका कौशलकुमार यादवले नाम मधेश प्रदेश र राजधानी जनकपुर राख्न प्रस्ताव गरे । समाजवादी पार्टीका सांसद लालबाबु राउत प्रदेशको मुख्यमन्त्री छन् । समाजवादी पार्टीका केही सांसदले प्रदेशको राजधानी वीरगञ्ज राख्न प्रस्ताव गरेका छन् ।
नेकपाकी मञ्जु यादवले नाम जानकी प्रदेश र राजधानी जनकपुरधाम राख्नुपर्ने बताइन् । जानकीको नामबाट प्रदेशको नाम राख्दा महिलामाथि पनि सम्मान हुने उनले तर्क गरिन् ।
नेपाली कांग्रेसका रामसरोज यादवले प्रदेशको नाम मिथिला भोजपुरा र प्रदेशको राजधानी जनकपुर कायम गर्न प्रस्ताव गरे । छलफल सकिएपछि मंगलवारै मतदान हुने कार्यसूची छ ।
सभामा १०७ जना सांसद छन् । सरकारको नेतृत्व गरेको समाजवादी पार्टीका ३०, राजपा २५, नेकपा ३२, कांग्रेसका १९, संघीय समाजवादीको १ सिट छन् । नाम र राजधानी प्रदेश सभाको दुइतिहाई बहुमतले पारित हुने संवैधानिक व्यवस्था छ । समाजवादी र राजपासँग स्पष्ट बहुमत भएपनि दुइतिहाइ पुर्याउन कांग्रेस वा नेकपाको समर्थन जरुरी छ । हालसम्म दलहरूबीच समीकरण बनेको छैन ।