
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि पर्सिबाट ३ हप्तासम्म विद्यार्थी भर्ना, प्रवेश परीक्षा, आम भेलालगायतका कुनैपनि गतिविधि नगर्न विद्यालयहरूलाई निर्देशन दिएका छन् ।
यद्यपि एसईई परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार नै सञ्चालन हुने मन्त्री पोखरेलले मंगलवार जारी गरेको अपिलमा उल्लेख छ ।
मन्त्री पोखरेलले अपिलमार्फत भोलि (चैत ५ गते) कक्षा ९ सम्मको परीक्षा सम्पन्न भएपछि ३ हप्तासम्म अध्ययन/अध्यापन, सांस्कृतिक कार्यक्रम, वार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आमभेला नगर्न अपिल गरेका छन् ।
चैत ६ गतेदेखि ३ हप्तासम्म कक्षा ९ सम्मका विद्यार्थीलाई पूर्ण छुट्टि दिन निर्देशन दिइएको मन्त्री पोखरेलले लोकान्तरलाई बताए ।
उनका अनुसार यो ३ हप्ता सबै निजी तथा सरकारी स्कूलले अध्ययन/अध्यापन गराउन पाउने छैनन् र विद्यार्थीहरूलाई पूर्णरूपमा छुट्टि दिनुपर्नेछ ।
अभिभावक भेला, प्रवेश परीक्षा आदिका नाममा पनि विद्यार्थीलाई बोलाउन पाइने छैन ।
यसबीचमा विद्यालय जाने उमेरका करीब ७० लाख विद्यार्थी घरभित्रै रहने मन्त्री पोखरेलले अपिलमा उल्लेख गरेका छन् ।
'एसईई परीक्षा सञ्चालन हुन्छ, अरू सबै स्कूल बन्द गर्ने भनेको हो,' अपिलबारे प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले लोकान्तरसँग भने, 'कक्षा ९ सम्मको परीक्षा भोलिसम्ममा सम्पन्न गर्न भनिसकिएको थियो, यसबीचमा अभिभावक भेला, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा लगायतका नाममा भीडभाड हुने कुनै गतिविधि नहोस् भनिएको हो ।'
'विशिष्ट परिस्थितिमा शैक्षिक संस्था बन्द गर्ने हो, बुझ्नुस् ३ हप्ताका लागि स्कूल बन्द भनिएको हो,' मन्त्री पोखरेलले थपे ।
स्कूल बन्द किन लेखिएन ?
एसईई परीक्षा सञ्चालन हुने भएकाले विद्यालय बन्द भन्ने भाषा अपिलमा प्रयोग नगरिएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले लोकान्तरसँग जनाए ।
'एसईई सञ्चालन हुने भएकाले विद्यालय बन्द नभनिएको हो, त्योबाहेक प्रवेश परीक्षा, अभिभावक दिवस, नतिजा प्रकाशन तथा घोषणा कार्यक्रम, तयारी परीक्षा सञ्चालन, वनभोज, पुरस्कार वितरण कार्यक्रम लगायत कुनैपनि शैक्षिक कार्यक्रम गर्न पाइने छैन,' प्रवक्ता शर्माले लोकान्तरसँग भने ।
हेर्नुहोस्, मन्त्रीको अपिल :

