१० साउन २०८३, आइतबार

त्रिविको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा कैलालीका सन्दीप सिंह पक्राउ

साउन १०, २०८३
काठमाडौं
त्रिविको प्रश्नपत्र बाहिर ल्याएको आरोपमा कैलालीका सन्दीप सिंह पक्राउ

 त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तह (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा अगावै बाहिर ल्याएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको अभियोगमा ३३ वर्षीय सन्दीप सिंहलाई नियन्त्रणमा लिएको हो।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. १ बस्ने सिंहलाई सीआईबीको टोलीले आइतबार पक्राउ गरेको हो।

सीआईबीका अनुसार गत साउन ८ गते सञ्चालित त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय अन्तर्गत एमबीएस प्रथम सेमेस्टरको 'अर्गनाइजेसनल विहेभियर' विषयको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहहरूमा साझा गरी गोपनीयता भङ्ग गरिएको पाइएको छ।

शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा संलग्न रहेको देखिएपछि उनलाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले जानकारी दिए । 

एमबीएस प्रथम सेमेस्टरका अन्य विषयका परीक्षाहरू अझै बाँकी रहेको सन्दर्भमा ब्यूरोले यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न नहुन चेतावनी समेत दिएको छ। परीक्षाको मर्यादा विपरीत प्रश्नपत्र सार्वजनिक गर्ने वा त्यस्ता कार्यमा सहयोग पुर्‍याउने जो कोहीलाई कानून बमोजिम कडा कारबाही गरिने ब्यूरोले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्