
विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको त्राससँगै बजारमा हुने सम्भावित अभावलाई ख्याल गर्दै उपभोक्ताले ग्यास र पेट्रोलियम पदार्थ सञ्चय गरिरहेका छन् ।
बजारमा अभाव भएपछि भोकभोकै बस्नुभन्दा अत्यावश्यक वस्तु सञ्चय गरेर राख्ने उपायलाई उपभोक्ताले कार्यान्वयन गरेपछि बजारमा असन्तुलन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उद्योग मन्त्रालयले दिनदिनै प्रेस विज्ञप्ति जारी गर्दै सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरिरहेको छ तर उपभोक्तालाई मन्त्रालय र सरकारको कुरालाई पत्याउने छाँटकाँट देखिएको छैन ।
मंगलवार पुनः उपभोक्तालाई अपिलसहितको प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश दाहालले लेखेका छन्, ‘उपभोक्ताले सम्भावित संकटको अवस्थालाई बोध गरी आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ र एलपी ग्यासको सञ्चय गर्दा माग र आपूर्तिबीच असन्तुलन भई बजारमा समस्या देखिन थालेको सन्दर्भमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय समस्त उपभोक्ता वर्गहरूमा आफ्नै सुरक्षालाई जोखिममा पारी पेट्रोलियम पदार्थ तथा ग्यास जस्तो अति प्रज्वलनशील पदार्थको घरमा सञ्चय गरी नराख्न अपिल गर्दछ ।’
मन्त्रालयले दिनदिनै विज्ञप्ति निकालेर बजारमा अभाव हुन नदिने र सञ्चय गरेर नराख्न उपभोक्तालाई अपिल गरिरहेको छ तर उपभोक्ताले सरकारलाई पत्याउने देखिएन । ‘संकटको यस परिस्थितिमा एलपी ग्यासको सहज आपूर्तिका लागि नेपाल आयल निगम लिमिटेडले प्रत्येक महिना नियमित रुपमा खपत हुँदै आएको ३८ हजार मेट्रिक टनमा ११ हजार मेट्रिक टन थप उपलब्ध गराउने गरी कोटा तोकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
