
४ चरणको मतदानपछि पनि कुनै नाम पाउन नसकेको प्रदेश नम्बर २ मा केहीबेरमा राजधानी टुंगो लगाउन मतदान हुँदैछ ।
मंगलवार प्रदेश २ का लागि प्रस्तावित चार वटै नामहरू अस्वीकृत भएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने चारवटै ठूला दलहरूले फरक फरक नाम प्रस्ताव गरेका थिए ।
नेपाली कांग्रेसले 'मिथिला भोजपुरा', नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले 'जानकी' र सरकारमा सहभागी समाजवादी र राजपाले संयुक्त रूपमा 'मधेश' नाम प्रस्ताव गरेका थिए ।
नेपाली कांग्रेसबाटै 'मध्यप्रदेश' नामको बागी प्रस्ताव पनि परेको थियो, त्यो पनि अस्वीकृत भयो ।
सबै नामहरू सभामुख सरोजकुमार यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए । तर आवश्यक दुईतिहाइ मतको अभावमा कुनै पनि नाम पारित हुन सकेनन् ।
यससँगै तत्कालका लागि प्रदेश नम्बर २ नै नाम रहने भएको छ । पछि राजनीतिक सहमतिका आधारमा नाम तय गरिने त्यहाँ उपस्थित नेताहरूले बताएका छन् ।
केही बेरमा राजधानीका लागि मतदान हुने कार्यक्रम रहेको त्यहाँ उपस्थित लोकान्तरका प्रदेश २ प्रतिनिधि अजय अनुरागीले बताएका छन् ।
राजधानीका लागि चार वटै दलले संयुक्त रूपमा ‘जनकपुरधाम’ प्रस्ताव गरेका छन् । प्रदेशको नाम टुंगो नलागेपछि सहमतिमा गरिएको राजधानीको प्रस्ताव पनि तुहिने सम्भावना रहेको छ ।