०४ असार २०८३, बिहीबार

बसमा बढी भाडा असुल्ने १७ जना पक्राउ

बसमा बढी भाडा असुल्ने १७ जना पक्राउ
फाइल फोटो

महानगरीय ट्राफिक प्रहरी महाशाखाले विषम परिस्थितिको फाइदा उठाउँदै सार्वजनिक सवारीसाधनमा बढी भाडा लिने १७ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी आफैं यात्रु बनेर कारवाही अभियान चलाएको महाशाखाले जनाएको छ । 

पक्राउ पर्नेमा डेबिट गुरुङ, कपिल श्रेष्ठ, नरेन्द्र संग्रौला, प्रकाश भट्ट, रमेश खड्का, जार बहादुर गुरुङ, बिजय गुरुङ, प्रभुराम राउत, प्रजय राई, बिजय तामाङ, निल बुढाथोकी, संजिब भण्डारी, प्रदिप लामा, कृष्ण माझी, विनोद ठकुरी, पिन्टु जसवाल र कमल श्रेष्ठ छन्  । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सादा पोशाकमै ट्राफिक प्रहरी खटाएर बढी भाडा लिनेविरुद्ध कारवाही चलाएको बताए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको बताए । 

प्रहरीले आफैं यात्रु बनेर निगरानी गर्ने, हिँड्न लागेको गाडीका यात्रुसँग जानकारी लिएर कारवाही गर्ने र यात्रु बस्ने लाइनमा बसेर फलानो ठाउँ जाने भनी टिकट मागेर अडियो–भिडियो रेकर्ड गरी कारवाहीको दायरामा ल्याउने गरिएको छ ।

ठगीको सूचना संकलनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले पीडित सहायता इकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको टोलीलाई समेत परिचालन गरेको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सर्वसाधारणको रुपमा यात्रु बनेर बढी भाडा लिनेलाई पक्राउ गर्ने गरिएको बताए । गाडी सञ्चालकले गाडी चढ्नुअघि कतिपय यात्रुलाई ‘कन्भिन्स’ गरेर पैसा ठग्ने गरेको र कतिपयलाई बढी भाडा नतिरे नलैजाने गरेको पाइएको छ ।

पक्राउ पर्ने व्यक्तिलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तमा बुझाएको छ । ट्राफिक महाशाखाले चैत्र ७ गते पनि ९ जना व्यक्तिलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि विभिन्न प्रहरी वृत्तमा बुझाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्