
कोरोना संक्रमणको विश्वव्यापी महामारीले अमेरिकामा समेत भयानक रुपमा देखिन थालेको छ ।
चीनको वुहान प्रदेशबाट शुरू भएको भनिएको भाइरस संसारभर फैलिएको छ । आइतवार बिहानसम्मको विवरण अनुसार चीन र इटालीपछि अमेरिकामा धेरै संक्रमित देखिएका छन् ।
अमेरिकामा २६ हजार ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ३४१ जनाको मृत्यु भएको छ भने १७६ जना निको भएर घर फर्किएका छन् । अमेरिकामा अहिले पनि २६ हजार १९४ कोरोना संक्रमित उपचाररत छन् ।
अमेरिकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १४ मार्च (चैत १ गते) का दिन राष्ट्रिय आपतकाल घोषणा गरेका थिए तर त्यसको १ हप्तापछि संक्रमितको संख्या ह्वात्तै बढ्न थालेको छ ।
ताजा तथ्यांक अनुसार इटालीमा मृतकको संख्या धेरै छ । इटलीमा हालसम्म ४ हजार ८२५ जनाको मृत्यु भएको छ भने ५३ हजार ५७८ जनामा संक्रमण देखिएको छ । त्यहाँ ६ हजार ७२ जना मात्रै उपचारपछि निको भएका छन् ।
चीनमा भने कोरोनाको संक्रमण घट्दै गएको छ । चीनमा ८१ हजार ५४ जनामा संक्रमण देखिएकोमा ७२ हजार ४४० जना निको भएका छन् । हाल चीनमा ५ हजार ३५३ जनामा मात्रै संक्रमण बाँकी रहेको छ ।
हालसम्म विश्वभर ३ लाख ७ हजार ६५२ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १३ हजार ५१ जनाको मृत्यु भएको छैन । शनिवार मात्रै कोरोनाका नयाँ ३२ हजार ५५ बिरामी फेला परेका छन् भने एकैदिन १ हजार ६ सय ६४ जनाको मृत्यु भएको छ ।