१३ असार २०८३, शनिबार

क्षयरोग परीक्षण गर्ने मशिन बिग्रिँदा बिरामीलाई समस्या, चेकजाँच नगरी घर फिर्ता

चैत ९, २०७६
क्षयरोग परीक्षण गर्ने मशिन बिग्रिँदा बिरामीलाई समस्या, चेकजाँच नगरी घर फिर्ता

महोत्तरीको भंगहा नगरपालिका–६ मजराकी २४ वर्षीया समिदा खातुन चैत्र ७ गते धनुषा स्वास्थ्य कार्यालय पुगिन् । ९ महिनाको बच्चालाई काखमा बोकेर उनी त्यहाँ क्षयरोगको जाँचका लागि पुगेकी थिइन् ।

उनलाई चिकित्सकले ४ महिनाअघि नै क्षयरोग भएको भनेर पुष्टि गरेपछि उपचारकै क्रममा औषधि समेत सेवन गरिरहेकी छन् ।

क्षयरोग छ/छैन, ठीक भयो/भएन, औषधिको मात्रा बढाउनुपर्ने हो कि घटाउनुपर्ने भनेर यकिन गर्न उनलाई चिकित्सकले फेरि पनि खकारको जाँच गराएर ल्याउन भनेका छन् तर बालकलाई काखमा बोकेर गएकी खातुनले खकारको परीक्षण नै गराउन पाइनन् ।

स्वास्थ्य कार्यालय पुगेपनि क्षयरोग जाँच्ने यन्त्र नै बिग्रेका कारण उनलाई बिना परीक्षण नै फिर्ता पठाइदियो ।

महोत्तरीको भङ्गहा नगरपालिकाकै हतिसर्वाका इब्रान नदाफ पनि आफ्नो ५ महिने नातिलाई लिएर क्षयरोग परीक्षणका लागि अस्पताल पुगेका थिए । ५ महिने बालकलाई क्षयरोगको लक्षण देखिएको भन्दै खकार परीक्षण गराएर ल्याउन भन्दै स्वास्थ्य कार्यालयमा पठाएका छन् तर उनी पनि नातिको खकार परीक्षण नै नगराएर घर फिर्ता भए ।

‘जाँच्ने मशिन नै खराब छ, अन्यत्र जानुस् भनेर जाँच्ने मानिसले फिर्ता पठाइदिए,’ नदाफले लोकान्तरसँग भने, ‘अब म कहाँ जाउँ, काठमाडौं जाने स्रोतसाधन नै छैन । कोरोनाको त्रासले काठमाडौंका मान्छे गाउँ फर्किरहेका छन्, कसरी जाँच गर्ने ?’

यी २ वटा बिरामी प्रतिनिधिमूलक पात्र हुन् । दैनिकजसो २० देखि २५ वटासम्म क्षयरोगका लागि जँचाउन आउने बिरामी त्यहाँबाट परीक्षण नै नगराएर फिर्ता हुन बाध्य छन् । २०७६ पुस २० गतेदेखि नै क्षयरोग जाँच्ने मशिन बिग्रेका कारण परीक्षण रोकिएको स्वास्थ्य कार्यालय धनुषाका ल्याब टेक्निसियन संजय मण्डलले बताए ।

‘क्षयरोग जाँच्ने मशिन पोलिमिरेज चेन रिएक्सन ‘पिसीआर’ बिग्रेको छ,’ मण्डलले भने, ‘मशिन नै बिग्रेका कारण कुनै पनि बिरामीको खकार परीक्षण हुन सकेको छैन ।’ 

क्षयरोग जाँच्ने मशिन धनुषाका ४ ठाउँमा छ । प्राथमिक स्वास्थ्य केन्द्र सबैला, प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहा, ढल्केवर हेल्थ पोस्ट र स्वास्थ्य कार्यालय धनुषामा मशिन छ तर चारै ठाउँको मशिन बिग्रेको अवस्थामा रहेको अर्का ल्याब टेक्निसियन सुमितकुमार पाण्डेले बताए ।

नेपाल क्षयरोग नियन्त्रण केन्द्र काठमाडौंमा जिन एक्सपर्ट हेर्ने कृष्ण अधिकारी, सरला खड्का समेतलाई मशिन बिग्रेको भनेर जानकारी समेत गराएको ल्याब टेक्निसियन मण्डलले बताए तर सरकारलाई हस्तान्तरण नै नगरिएका मशिन मम्र्मतसम्भारका लागि खर्च गर्न नमिल्ने भन्दै जवाफ दिएका कारण समस्या भएको उनले बताए ।

चालू आर्थिक वर्षको मंसिर महिनासम्म मशिन सञ्चालन भएको अवस्थामा स्वास्थ्य कार्यालय धनुषामा ६०८ जनाको परीक्षण गरिएको थियो । गत आर्थिक वर्षमा २ हजार २४८ जनाको क्षयरोगको परीक्षण गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्