
नेदरल्यान्ड्समा मादक पदार्थ सेवन गरेर गाडी चलाएको आशंका गरिएका एक व्यक्तिले गाडी रोक्ने ट्राफिक प्रहरीतिर फर्केर खोकेकोमा १० हप्ताको कारावास सजाय दिइएको छ ।
उनले आफूलाई कोभिड–१९ रहेको दाबी गरे पनि पछि उनमा उक्त भाइरस नरहेको पाइयो ।
ती व्यक्ति २३ वर्षीय पुरुष हुन् र लाइडनमा बस्छन् । उनले तीव्र गतिमा साना सडकमा गाडी दौडाउँदा प्रहरीले रोकेको थियो । समाचारहरूमा आएअनुसार, उनले मापसे परीक्षण गराउन अस्वीकार गरेका थिए । अधिकारीहरूलाई सहयोग गर्नुको साटो उनले दुई अधिकारीको मुखैमा खोकेर भनेका थिए, ‘मलाई कोरोनाभाइरस लागेको छ, अब तिमीहरूलाई लाग्यो ।’
एक जिल्ला अदालतले ती आरोपितलाई आक्रमण गरेको र मृत्युको धम्की दिएको आरोपमा दोषी ठहर गर्दै शुक्रवार १० हप्ताको कारावास सजाय दिएको छ । पक्राउ गरेपछि उनलाई कोभिड–१९ परीक्षण गर्दा भाइरस नभएको पाइयो ।
सजाय सुनाउने बेलामा न्यायाधीशले उक्त व्यक्तिको व्यवहार निन्दनीय रहेको र उनलाई कारावास सजाय दिएर अन्यलाई चेतावनी दिन खोजिएको बताए ।
नेदरल्यान्ड्स सरकारले सबै विद्यालय र डेकेयर सेन्टरहरूलाई अघिल्लो साता बन्द गरेको छ । क्याफे र रेस्टुराँहरू पनि फागुन २३ गतेसम्मका लागि बन्द गरिएका छन् ।