३१ जेठ २०८३, आइतबार

पर्यटकको आगमन शून्य तर दैनिक २० हजार नेपाली स्वदेश फर्किंदै

पर्यटकको आगमन शून्य तर दैनिक २० हजार नेपाली स्वदेश फर्किंदै
file photo

स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट राहदानीवाहक विदेशी भित्रिने क्रम शून्य भएको छ ।

पछिल्लो दुई दिनको तथ्याङ्कमा यस्तो देखिएको अध्यागमन कार्यालय बेलहिया प्रमुख गिरीराज खनालले बताए । उनले भने, ‘विदेशीहरुलाई प्रवेश दिइएको छैन । राहदानीवाहक भारतीय पनि दुई दिनयता आएका छैनन् ।’

विश्वव्यापीरूपमा कोरोना भाइरसको उच्च जोखिम बढेसँगै बेलहियाबाट आउने विदेशीको सङ्ख्या शून्य भएको हो । राहदानीवाहक पर्यटक नेपाल प्रवेश शून्य भएको छ । अध्यागमन कार्यालय बेलहियाका अनुसार बुधबार, बिहीबार र शुक्रबार शून्य आगमन भएकामा शनिबार दुईजना मात्रै पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी आठजना भारततर्फ गएका छन् । आज पर्यटकको आवागमन शून्य छ । सन् २०१८ मा उक्त नाकाबाट एक लाख ६६ हजार २३५ विदेशी नेपाल प्रवेश गरेका थिए भने सन् २०१९ मा उक्त नाकाबाट एक लाख ६१ हजार ६९१ नेपाल प्रवेश गरेका थिए ।

यता सोही नाका हुँदै स्वदेश फर्किने नेपालीको भने सङ्ख्या दिनदिनै बढ्दै गएको छ । रोजगारी तथा पढाइका लागि भारतका विभिन्न शहरमा पुगेका नेपाली यतिबेला स्वदेश फर्किरहेको दसगजाको सहायता कक्ष ‘हेल्थ डेस्क’मा बसेका स्थानीयवासी धर्मराज गिरी बताउँछन् ।

उनले भने, ‘एक हप्तादेखि म यहीँ डेस्कमा छु । दैनिक करीब २० हजारभन्दा बढी नेपाली स्वदेश फिर्ता भएको देखिएको छ ।’

दसगजामा सिद्धार्थनगरपालिकाको अगुवाइ, स्थानीयवासीको सहभागिता तथा सुरक्षाकर्मीको सहयोगमा नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य जाँच पनि भइरहेको छ । ‘शरीरको तापक्रम जाँच गरेर र स्यानिटाइजरले हात धुवाएर मात्रै नेपाल प्रवेश गर्न दिइएको छ,’ स्थानीय बासिन्दा रमेश थापाले भने ।

भारतमा भारत सरकारले जनता कफ्र्यू लगाएपछि र भारतीय विभिन्न शहरमा कोरोना सङ्क्रमित देखिएको समाचार बाहिरिएपछि अधिकांश भारतीय पनि नेपाल आइरहेको बताइएको छ ।

भारतको गोरखपुर, बनारस, लखनऊ, दिल्ली, पञ्जाब, बम्बई, बैङ्गलोर, चेन्नईलगायत क्षेत्रबाट बेलहिया नाका हुँदै स्वदेश फर्किनेहरु नेपाल प्रवेश गरेका हुन् ।

सरकारले नेपाल–भारत बस सेवा बन्द गरेको भए पनि र भारतमा सार्वजनिक यातयात बन्द भए पनि निजी सवारीसाधन बुक गरेर आउनेको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्