
म्याग्दी, ७ वैशाख - नेकपा(एमाले)ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाका प्रमुखको उम्मेदवारीका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
एमाले नगर सङ्गठन कमिटीले १० जना आकाङ्क्षी भए पनि नगर प्रमुखमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापाको नाम सिफारिस गरी जिल्ला कमिटीमा पठाउने निर्णय गरेको छ । तीनै जना जिल्ला कमिटी सचिवालय सदस्य हुन् ।
उपप्रमुखका उम्मेदवारीका लागि मुना बानियाँ, दुर्गा कार्की र पशुपति शाहीको नाम सिफारिस गर्ने निर्णय भएको एमाले म्याग्दीले जनाएको छ । नगर सङ्गठन कमिटीबाट आएको सिफारिसलाई जिल्ला कमिटी बैठकमा थप छलफल गरी प्रदेश कमिटीमा पठाइने एमाले जिल्ला उपाध्यक्ष देवेन्द्र केसीले बताउनुभयो । रासस