
कोरोना संक्रमण फैलिए प्रभावकारी रूपमा नियन्त्रण गर्न सरकारले देशभर एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको छ । तीनै तहका सरकार मिलेर संक्रमणको शंका लागेको व्यक्ति राखिने क्वारेन्टाइन बनाइनेछन् । तर, संक्रमितलाई राखेर उपचार गरिने आइसोलेसन कक्ष भने देशभर मुस्किलले एक हजार बनाउन पनि चुनौती छ ।
पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्वको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । क्वारेन्टाइनको मापदण्ड सोमबार टुंगो लाग्दै छ । कार्यदलको निर्णयअनुसार प्रत्येक प्रदेश सरकारले दुई हजार बेड क्षमताको क्वारेन्टाइन बनाउनेछन् । ६ महानगरपालिकाले दुई–दुई हजार क्षमताका गरी १२ हजार बेडको क्वारेन्टाइन बनाउनुपर्नेछ । त्यस्तै, ११ वटा उपमहानगरपालिकाले एक–एक हजार बेड क्षमताको क्वारेन्टाइन बनाउनेछन् ।
जिल्ला सदरमुकाम रहेका तराईका स्थानीय तहले दुई हजार, पहाडका स्थानीय तहले एक हजार र हिमाली जिल्लाका स्थानीय तहले कम्तीमा पाँच सय बेड क्षमताको क्वारेन्टाइन बनाउनुपर्नेछ । सदरमुकामबाहिर रहेका स्थानीय तहबारे सोमबार बस्ने बैठकले निर्णय गर्नेछ ।
सरकारले स्कुल र होस्टेलहरूमा दुई हजार बेड क्षमताको क्वारेन्टाइन बनाउने प्रस्ताव पनि तयार गरेको छ । यसबारे स्कुल तथा होस्टेल सञ्चालकसँग आइतबार छलफल भएको छ । उनीहरूले क्वारेन्टाइनका लागि आफ्ना भवन दिन तयार रहेको बताएका छन् ।
त्यस्तै, राष्ट्रिय खेलकुद परिषद्ले रंगशालामा समेत क्वारेन्टाइन बनाउन छलफल अघि बढाएको छ । काठमाडौं, ललितपुर, पोखरा, धरान र बुटवलका रंगशालामा क्वारेन्टाइन बनाउन लागिएको हो । यसरी सबै निकायले क्वारेन्टाइन निर्माण गरे एकैपटक एक लाखभन्दा धेरैलाई राख्न सकिने कार्यदलले जनाएको छ ।
भाइरस सरेको आशंका गरिएकालाई राख्न एक लाख बेड क्वारेन्टाइन बनाउने लक्ष्यसहित सेना, सशस्त्र, प्रहरी तथा केन्द्र, प्रदेश र स्थानीय सरकार, विद्यालय र निजी होटेलले समेत युद्धस्तरमा काम गरेका छन्, तर रोग पुष्टि भएमा बिरामीलाई उपचार गर्न राखिने आइसोलेसन बेड भने हजार पु-याउन पनि चुनौती छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले उपत्यकामा पाँच हजार बेड क्षमताको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ ।
आवश्यकताअनुसार होटेलदेखि सरकारी कार्यालयहरूसम्म खाली गराएर क्वारेन्टाइन बनाउने सरकारको योजना छ । यसका लागि सम्बन्धित पक्षसँगको छलफल अघि बढाइएको छ । क्वारेन्टाइन निर्माणका लागि आइतबार इंचगुनारायाणको खाली अपार्टमेन्ट, मनमोहन अस्पताल र गौशालास्थित नेपाल–भारत धर्मशालाको निरीक्षण गरिएको छ । त्यस्तै, होटेल तथा स्कुल सञ्चालकसँग पनि छलफल भइरहेको काठमाडौंका सिडिओ जनकराज दाहालले बताए ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि संक्रमणको शंका भएका व्यक्तिलाई राख्ने क्वारेन्टाइन र संक्रमितलाई राख्ने आइसोलेसन कक्ष निर्माणका लागि छुट्टाछुट्टै तयारी गरेका छन् । उनीहरूले देशभर दुई हजार ६ सय २६ बेड क्षमताको क्वारेन्टाइन र चार सय ३९ बेड क्षमताको आइसोलेसन निर्माण गरिरहेका छन् । तीनै निकायले कोरोना नियन्त्रणका लागि विशेष टोली खटाउँदै छन् ।
सेनाले क्वारेन्टाइन र आइसोलेसन कक्ष सबैभन्दा धेरै बनाउँदै छ । संक्रमितको उद्धार तथा उपचारका क्रममा खटिने सुरक्षाकर्मी भने सबैभन्दा धेरै नेपाल प्रहरीका छन् । सैनिक निर्देशनालयका अनुसार पश्चिम पृतना सुर्खेतले मातहतका १७ स्थानमा दुई सय ६८ शड्ढयााको क्वारेन्टाइन निर्माण गरिसकेको छ । त्यस्तै, १५ स्थानमा एक सय ३१ शड्ढयाको आइसोलेसन कक्ष निर्माण गरेको छ ।
उपत्यका पृतना नारायणहिटीले टुँडिखेलमा एक सय आठ र खरिपाटीमा एक सय ५० गरी २ सय ५८ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । त्यस्तै, बलाजु, सिंहदरबार, नागार्जुन, हनुमानढोका, नारायणहिटी, एयरपोर्ट, खरिपाटी, छाउनी, सीतापाइलालगायतका १५ स्थानमा ७७ बेड क्षमताको आइसोलेसन बनाएको छ ।
मध्य पृतना हेटौँडाले १२ स्थानमा दुई सय ९० बेडको क्वारेन्टाइन, ६० बेड क्षमताको आइसोलेसन कक्ष बनाएको छ । त्यस्तै, मध्यपूर्व पृतना जलेश्वरले १९ स्थानमा दुई सय ११ बेडको क्वारेन्टाइन र एक सय एक बेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरेको छ । पश्चिम पृतना पोखराले पाँच स्थानमा ६९ बेडको क्वारेन्टाइन र ५० बेड क्षमताको आइसोलेसन कक्ष बनाएको छ ।
सेनाको पूर्वी पृतना इटहरीले पनि चार सय ६८ बेड क्षमताको आइसोलेसन र क्वारेन्टाइन निर्माण गरिसकेको छ । तर, कति बेड आइसोलेसन र कति बेड क्वारेन्टाइन भन्ने तथ्यांक आइनसकेको सेनाले जनाएको छ । बाँकी दुई पृतनाले पनि क्वारेन्टाइन र आइसोलेसन कक्ष बनाइरहेको, तर तथ्यांक आइनसकेको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले बताए । ‘सेनाका मुलुकभर आठवटा पृतना कार्यालय छन् । सबैलाई क्वारेन्टाइन र आइसोलेसन कक्ष निर्माण गर्न निर्देशन भइसकेको छ । तर, सबैको तथ्यांक आइसकेको छैन,’ पाण्डेले भने ।
सेनामा चिकित्सक र नर्सको मात्रै दुई हजार तीन सयको हाराहारीमा दरबन्दी छ । हरेक क्वारेन्टाइनमा कम्तीमा एक चिकित्सक खटाउने सेनाको योजना छ । त्यस्तै, देशभरका क्वारेन्टाइन र आइसोलेसन कक्षमा ६ हजार पाँच सयको हाराहारीमा नर्स खटाइनेछन् । यसका लागि सेनाले भूतपूर्व नर्सलाई पनि खटाउनेछ । त्यस्तै, एक हजार पाँच सयको हाराहारीमा हेल्थ असिस्टेन्ट खटाइनेछन् । संक्रमण नियन्त्रणका लागि तालिमप्राप्त सुरक्षाकर्मी उत्पादन गर्न सेनाले एक सय ८१ सुरक्षाकर्मीलाई देशभर खटाइसकेको छ ।
स्वास्थ्यकर्मीका लागि लागि सेनाले तीन हजार थान पर्सनल प्रोटेक्टेड इक्विपमेन्ट (पिपिई) जिल्लामा पठाइसकेको छ । त्यस्तै, क्वारेन्टाइन र आइसोलेसन कक्षहरूमा खटिने सुरक्षाकर्मीका लागि १५ हजार थान मास्क, एक हजार सात सय ग्लोब्स, २५ बक्स स्यानिटाइजरमातहतका कार्यालयमा पठाइएको छ ।
स्यानिटाइजर र मास्क आफैँ उत्पादन गर्दै सेना
सेनाले मास्क र स्यानिटाइजर आफैँ उत्पादन गर्न सुरु गरेको छ । अहिले उत्पादित स्यानिटाइजर र माक्स सेनाले मात्रै प्रयोग गर्दैै आएको छ । आवश्यक परे नागरिकका लागि पनि वितरण गरिने सेनाले जनाएको छ । ‘बजारमा मास्क र स्यानिटाइजर अभाव हुन नदिन हामीले नै उत्पादन थालेका छौँ । अहिले यो उत्पादन सेनाले मात्रै प्रयोग गर्दैै आएको छ । आवश्यक परे सर्वसाधारणका लागि पनि यसलाई वितरण गर्न सकिनेछ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।
प्रहरीको तयारी
नेपाल प्रहरीले हालसम्म पाँच सय ३० बेड क्षमताको क्वारेन्टाइन कक्ष बनाइसकेको छ । काठमाडौंस्थित प्रहरी अस्पताल महाराजगन्जमा ५० र बाँकी चार सय ८० बेड सातवटा प्रदेश मुख्यालयमातहत रहेका छन् । यसका लागि प्रहरीले प्रत्येक प्रदेशमा ३५ वटाका दरले विशेष खालको टेन्ट पठाएको छ । एउटा टेन्टमा दुईजना अटाउने क्षमता छ । यसबाहेक थप क्वारेन्टाइन बनाउने प्रहरीको योजना छ ।
आइसोलेसन कक्ष भने प्रहरी अस्पताल महारागन्जमा मात्रै छ, जहाँ अहिले २० बेड बन्दै छन् । आवश्यकताअनुसार बाँकी बेड पनि थप्दै जाने प्रहरी प्रवक्ता डिआइजी शैलेश थापाले बताए । ‘पर्याप्त मात्रामा आइसोलेसन बेड बनाउन सकिएको छैन । यद्यपि, २० वटा भने बन्ने क्रममा छन् । यो पनि आवश्यकताअनुसार थप्दै लगिनेछ,’ उनले भने ।
१३ हजार प्रहरी खटिने
प्रहरीले कोरोना नियन्त्रणका लागि देशभर १३ हजारको संख्यामा सुरक्षाकर्मी खटाउने भएको छ । यसकै लागि प्रहरीले १० वटा विशेष खालको कमाण्ड टोली गठन गरिसकेको छ । त्यस्तै, देशभर तालिमप्राप्त ७७ चिकित्सक खटाउने प्रहरीको योजना छ । एक सय ९५ वटा एम्बुलेन्स चौबिसै घन्टा परिचालित हुनेछन् । चिकित्सक, नर्स, हेल्थ असिस्टेन्ट तथा सुरक्षाकर्मीका लागि प्रहरीले पिपिई, पन्जा, मास्क, स्यानिटाइजरलगायतका सामग्री मातहतका निकायमा पठाइसकेको छ । नयाँ पत्रिकामा खबर छ ।