कोरोनाभाइरसले आक्रान्त इरानले अमेरिकासँग सहायता लिन अस्वीकार गरेको छ ।
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले इरानमा औषधि ल्याएर भाइरसलाई जिउँदो राखिरहन र कहिले पनि अन्त्य गर्न नसकिने स्थिति ल्याउन अमेरिकाले षड्यन्त्र गर्न सक्ने गम्भीर आरोप समेत लगाएका छन् ।
अमेरिकाले गत फेब्रुअरी महिनामै इरानलाई सहायता गर्ने प्रस्ताव पेश गरेको थियो तर इरानले त्यसलाई अस्वीकार गरेको हो ।
खमेनीले आइतवार १२९ नयाँ मृत्युको आँकडा जारी गर्दै अमेरिकामाथि कडा आक्रमण गरे । उनले भने, ‘अमेरिका हाम्रो सबभन्दा ठूलो दुश्मन हो । अमेरिकाका नेताहरू झूटा छन् । उनीहरू लालची र आतंकवादी हुन् । हामीलाई औषधि र उपचार सहायता गर्ने अमेरिकाको प्रस्ताव आश्चर्यजनक छ । अमेरिकामा नै स्वास्थ्य उपकरण र औषधिको कमी छ ।’
खमेनीले देशवासीहरू महाव्याधिसँग लड्नका लागि सबै निर्देशन पालन गर्न भनेका छन् । इरानका मानिस, मुस्लिम देश र संसारका मानिसमाथि आइलागेको विपतलाई भगवानले अन्त्य गर्ने पनि उनले बताए ।
भाइरस फैलिनबाट रोक्नका लागि उनले मानिसहरूलाई पारसी नयाँ वर्षमा यात्रा नगर्न भनेका छन् । इरानमा कोरोनाभाइरसका कारण भएका मृत्युमा ६८ प्रतिशत मानिस ६० वर्षभन्दा माथिका छन् ।