
कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा अमेरिकीहरू बेस्सरी डराएका छन् । संसारको सबभन्दा शक्तिशाली देशसँग यस भाइरसको कुनै उपचार छैन ।
भाइरससँग अरू जस्तै अमेरिका पनि संघर्ष गरिरहेको छ । केही समयअघि मात्र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यसलाई राजनीतिक छल भनेर खारेज गरेका थिए ।
अमेरिकालाई संसारका अन्य देशले पर्फेक्ट मुलुकका रूपमा लिँदै त्यहाँ बस्नका लागि हत्ते गर्ने गरेका छन् । तर त्यो पुरानो कुरा जस्तो लाग्न थालेको छ ।
आजकल अमेरिकाको अर्को पाटो उजागर हुन थालेको छ । त्यहाँ कोरोनाभाइरसका कारण ४५२ जनाको मृत्यु भइसकेको छ ।
अनि ३४ हजार ७१७ जनामा यसको संक्रमण देखिइसकेको छ र यो संख्या थप बढ्ने बताइएको छ ।
स्थिति अझै कति बिग्रने हो र संकट कति लामो समयसम्म चल्ने हो भन्ने विषयमा कसैले पनि अनुमान गर्न सकेको छैन ।
धेरै मानिस त संसारको महाशक्ति राष्ट्र यसरी लाचार भएको देखेर छक्क परेका छन् ।
अमेरिका संसारको कुनै पनि कुनामा गएर हरेक विषयमा आफ्नो कुरा राख्छ अनि फैसला लिन्छ । उसका नेताहरू आफ्नो देशको सीमा बाहिर आफ्नो शक्ति प्रदर्शन गरिरहेका हुन्छन् ।
तर कोरोनाभाइरस सामु अमेरिका आन्तरिक रूपमा कमजोर देखिएको छ ।
अमेरिकामा सर्वसाधारणको स्वास्थ्य सुरक्षाको जिम्मेवारी पाएको सबभन्दा महत्त्वपूर्ण संस्था सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी) का पूर्व निर्देशक टम फ्रीडेनले भयावह स्थितिको आकलन गरेका छन् । उनले भने, ‘अमेरिकाको आधा जनसंख्या कोभिड–१९ बाट संक्रमित हुन सक्छ । दश लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्छ ।’
मानिसहरू अमेरिका छोडेर आआफ्नो देशतिर भाग्ने स्थिति समेत आइसकेको छ ।
द न्युयोर्क टाइम्सको एक रिपोर्टअनुसार, ‘चिनियाँ नागरिकहरू आफ्ना सन्तानलाई गर्वका साथ पढ्नका लागि न्युयोर्क र लन्डन पठाउने गर्थे । अहिले उनीहरू मास्क र स्यानिटाइजर पठाइरहेका छन् र घर फर्किन भनिरहेका छन् ।’ रिपोर्टमा २४ वर्षीय एक चिनियाँ विद्यार्थीले न्युयोर्कभन्दा चीन नै सुरक्षित लागेको बताए ।
केही महिनाअघि चीन कोरोनाभाइरसको चपेटामा परेको थियो र त्यहाँ धेरै मानिसको मृत्यु भयो । चीनको स्थिति हेरेर भाइरसको परीक्षण छिटो गरेर आफ्ना नागरिकलाई बचाउन अमेरिकालाई प्रशस्त मौका हुँदा पनि त्यसो नगरेको भनी ट्रम्प प्रशासनको आलोचना भइरहेको छ ।
अझ जनवरी महिनाको अन्त्यतिर डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा सीएनबीसीसँग कुरा गर्दै ट्रम्पले भनेका थिए, ‘हाम्रोमा स्थिति नियन्त्रणमा छ ।’
त्यतिखेर उनले चीनबाट आएका सूचनामा विश्वास गरेको बताएका थिए । तर अहिले स्थितिमा तीव्र परिवर्तन आइरहेको छ । अहिले मानिसहरूले सरकारका कदममाथि प्रश्न उठाइरहेका छन् ।
अमेरिकी पत्रकार डेभिड वेलेसले ट्रम्प र उनको प्रबन्धको आलोचना गर्दै अमेरिका इज ब्रोकन शीर्षकमा एक आकलन लेखेका छन् ।
अमेरिकामा मानिसहरू कोरोनाको परीक्षण गराउनका लागि पैसा तिर्न नसक्ने स्थितिमा रहेको भनी उनले प्रशासनको आलोचना गरेका छन् ।
बीबीसी हिन्दीबाट