०९ असार २०८३, मंगलबार
कोरोना सतर्कता

सुनौली नाका बन्द हुँदा ५० नेपाली सीमामा अलपत्र, आवागमन पूर्ण निषेध

चैत १०, २०७६
सुनौली नाका बन्द हुँदा ५० नेपाली सीमामा अलपत्र, आवागमन पूर्ण निषेध

सरकारले १ हप्ताका लागि भारत र चीनसँगका नाका बन्द गर्ने निर्णय गरेसँगै नेपालको दोस्रो ठूलो नाका रुपन्देहीको बेलहिया (सुनौली) पनि सोमवार बिहान १० बजेदेखि बन्द भएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डीएसपी खड्गबहादुर खत्रीले अबको १ हप्तासम्म नाका कडाइका साथ बन्द हुने लोकान्तरलाई जानकारी दिए । 

आइतवारको मन्त्रिपरिषद् बैठकले सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपाल भित्रिन नदिन सरकारले सीमानाका बन्द गरेको हो ।

सोमवार बिहान मात्रै सुनौलीबाट ६१५ जना नेपाल भित्रिएका छन् । 

उनले भने, ‘नाकामा आएका ५०–६० जना रोकिएका छन् । तिनीहरूलाई आउन रोकिएको छ । नाकामा भएकालाई पनि आउन दिइँदैन ।’ नाकामा रोकिएकाहरूले नेपाल प्रवेश गर्न दिन प्रहरीसँग आग्रह गरेका छन् । 
‘उनीहरूलाई नेपाल प्रवेश गर्न दिइँदैन । उतै व्यवस्था गर्छन्, उतै बस्छन्,’ खत्रीले भने ।

सुनौली नाकाबाट आइतवार ४ हजार र शनिवार १७ हजार नेपाली भित्रिएको खत्रीले जानकारी दिए । नेपालबाट भारततर्फ नाकामा विशेष चेकजाँच गरेर जान दिइएको छ । आइतवार भारतमा जनता कर्फ्यु लागेर सुनौली बजार बन्द थियो । पश्चिम नवलपरासीले शनिवारदेखि नै भारतसँग जोडिएका सबै नाका बन्द गरेको थियो । 

अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरीराज खनालले केही मानिसहरू नाकामा रोकिएको जानकारी दिए । ‘मानिसहरू रोकिएका छन् । प्रवेश दिने कि नदिने प्रहरीले छिट्टै निर्णय गर्ला ।’

तेस्रो देशका पर्यटकलाई मार्च १४ गतेदेखि आवातजावत रोकिएको खनालले जानकारी दिए । नाका र लामो दूुरीका सार्वजनिक सवारी बन्द गरेसँगै प्रदेशका बजार सुनसान भएका छन् । मानिसहरू घर बाहिर निस्केका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्