
अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओ सोमवार अफगानिस्तानको राजधानी काबुल पुगेका छन् । फेब्रुअरीमा तालिबानसँग गरिएको शान्ति सम्झौताअनुरूप शान्ति प्रक्रियालाई अघि बढाउन उनी काबुल पुगेका हुन् ।
अहिले कोरोनाभाइरसका कारण विश्वका नेता र राज्य सञ्चालकहरूले आधिकारिक यात्रा नगरिरहेको बेलामा पम्पिओ काबुल गए ।
शान्ति सम्झौतामा हस्ताक्षर भएयता शान्ति प्रक्रिया अवरुद्ध रहेको छ किनकि अफगानिस्तानमा राजनीतिक अन्योलको स्थिति छ । को राष्ट्रपति निर्वाचित भएको हो भन्ने विषयमा देशका नेताहरूले विवाद गरिरहेका छन् ।
राष्ट्रपति अशरफ गानी र उनका मुख्य प्रतिद्वन्द्वी अब्दुल्लाह अब्दुल्लाह दुवैले आफू देशको राष्ट्रपति भएको घोषणा गरेका छन् र शपथ लिएका छन् ।
भ्रमणका क्रममा पम्पिओले गतिरोध अन्त्यका लागि सहयोग गर्ने अपेक्षा छ । गतिरोधकै कारण अफगानिस्तानमा तालिबान सहितको शान्ति वार्ता हुन सकेको छैन । यी वार्ताहरू शान्ति सम्झौताका महत्त्वपूर्ण कदम हुन् र यिनैले
अमेरिकालाई आफ्ना सैनिक फिर्ता बोलाउन तथा अफगानहरू शान्तिको मौका दिन भूमिका खेल्नेछन् ।
अमेरिका र नाटो गठबन्धनले अफागानिस्तानबाट केही सैनिक फिर्ता बोलाउन थालिसकेका छन् । अमेरिकी सुरक्षा बलहरू अफगानिस्तानबाट पूरै हट्नुमा अफगानिस्तानको आन्तरिक शान्तिवार्ता जिम्मेवार हुँदैन बरू
अफगानिस्तानमा इस्लामिक स्टेट जस्ता आतंकवादी समूहलाई खेल्ने मौका नदिने भनी तालिबानले गरेको प्रतिज्ञा जिम्मेवार हुन्छ ।
तर अमेरिका र तालिबानले कतारको दोहामा शान्ति सम्झौता गरेको केही दिनभित्र अफगानिस्तान राजनीतिक संकटमा परेको छ । बहालवाला राष्ट्रपति अशरफ गानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह दुवैले निर्वाचन
परिणाम आफ्नो पक्षमा आएको बताएका छन् । अनि शान्ति सम्झौतामा उल्लेख भएबमोजिम ५ हजार तालिबानी कैदीलाई थुनामुक्त गर्ने प्रतिबद्धतालाई पनि गानीले पूरा गरेका छैनन् ।
अनि तालिबान विद्रोहीहरूले कब्जामा लिएका एक हजार अफगान अधिकारी र सैनिकलाई मुक्त गर्ने कुरा थियो । शान्ति सम्झौतालाई अघि बढाउन बन्दी आदानप्रदानलाई सद्भावपूर्ण कदम मानिएको थियो ।
शान्ति सम्झौताको अपरिहार्यतालाई उजागर गर्दैै कोरोनाको त्रासमका बाबजूद माइक पम्पिओ काबुल पुगेका हुन् ।