
स्पेनमा कोरोनाभाइरसका कारण अस्पतालहरू खचाखच भरिएपछि रोगीहरू उपचार कुर्दै भुइँमा पल्टिन बाध्य भएका छन् ।
सामाजिक सञ्जालमा आएका विभिन्न भिडियोहरूमा केही रागीहरू बेस्सरी खोकेको अनि एक स्वास्थ्यकर्मी नजिकै उभिएको देखिन्छ । भुइँमा लडेका केही मानिसलाई अक्सिजन ट्यांक जडिएको छ ।
यी दृश्यहरू इन्फान्ता लियोनोर हस्पिटल र सेभेरो ओचोआ दे लेगानेस हस्पिटलका हुन् । राजधानी मड्रिडमा यी अस्पतालहरू छन् ।
भिडियो अन्लाइनमा शेयर गरेर मानिसहरूलाई सामाजिक दूरी अपनाउन आग्रह गरिएको छ ।
स्पेनमा कोरोनाका २९ हजार ९०९ वटा केस देखिएका छन् भने १८ सय १३ जनाको मृत्यु भइसकेको छ ।
स्थानीय पत्रिका एल मुन्दोले लेखेअनुसार, सेभेरो अस्पतालले थप रोगीलाई भर्ना नगर्ने किनकि अधिकतम क्षमता पार गरिसकेको जनाएको छ ।
अस्पतालको स्थिति नाटकीय रहेको र आकस्मिक वार्डमा क्षमताभन्दा तीन गुणा बढी मानिस रहेको र शय्याको अभावमा मानिसहरू ३० घन्टादेखि प्लास्टिकको कुर्सीमा बसेको पत्रिकामा लेखिएको छ ।
वर्कर्स कमिसन्स युनियनका प्रतिनिधि मर्सिडिजले शुक्रवार बिहान अस्पतालको आकस्मिक वार्डमा २४० मानिस रहेको जबकि त्यसको क्षमता ८० रोगी रहेको बताए ।
इन्फान्ता अस्पतालले बिरामी खचाखच भएपछि कोलोन होटलमा गम्भीर रोगीहरूको उपचार थालेको बताइएको छ ।