
चीनमा अमेरिकाको एक सार्वजनिक स्वास्थ्य अधिकारीलाई कोरोनाभाइरस फैलिनुअघि नै ट्रम्प प्रशासनले जागिर खोसेको विभिन्न स्रोतले बताएका छन् । ती प्रतिनिधि चीनमा बसिरहन पाएकी भए उनले कोरोनाभाइरसको
संक्रमणका विषयमा पलपलको जानकारी दिने थिइन् र भाइरसको जोखिमलाई न्यूनीकरण गर्न सकिन्थ्यो ।
संक्रामक रोग विशेषज्ञ डा लिन्डा क्विक बेइजिङमा रोग नियन्त्रण संस्थामा कार्यरत थिइन् । उनलाई गत जुलाई महिनामा अमेरिका फिर्ता बोलाइएको चारवटा स्रोतले रोयटर्स समाचार संस्थालाई बताए ।
पछि कोरोनाभाइरसका शुरूआती केसहरू देखिन थाले । केही केस त नोभेम्बर महिनाको शुरूतिरै देखिए ।
डा क्विकको ठाउँमा अर्को कुनै चिकित्सकलाई राखेको भए पनि संक्रमणको विषयमा अमेरिकी अधिकारीहरूलाई जानकारी प्राप्त हुने थियो किनकि चिनियाँ सरकारले शुरूतिर सूचना लुकायो र भ्रामक अनुमानहरू प्रस्तुत गर्यो ।
पछि कोरोनाका केसहरू बढ्दै जाँदा ट्रम्प प्रशासनले फेब्रुअरी महिनामा चीनलाई संक्रमणको सूचना लुकाएको र अमेरिकी विज्ञहरूलाई सहायताका लागि देश पस्न नदिएको भनी आलोचना गर्यो ।
सीडीसीले अमेरिकीहरूलाई फेब्रुअरी २५ मा अमेरिकामा संक्रमण फैलिन सक्ने भएकाले तयारी अवस्थामा बस्न भनेको थियो ।
अमेरिकाका परराष्ट्रमन्त्री मायक पम्पिओले त्यतिखेर स्वास्थ्यकर्मी र मिडियालाई सेन्सरशिप लगाएर चीनले महामारीको खराब प्रबन्धन गरेको आरोप लगाएका थिए ।
त्यतिखेरदेखि चीन र अमेरिकाबीचको सम्बन्ध झन् बिग्रेको छ र अमेरिकाका राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस नाम दिएर मनमुटाव झनै बढाएका छन् ।