भारतको मध्य प्रदेशमा फेरि एकपटक शिवराज सिंह चौहान मुख्यमन्त्री बन्ने भएका छन् ।
आजतकले सूत्रहरूलाई उद्धृत गर्दै खबर दिएअनुसार, चौहानलाई सोमवार विधायक दलको नेता छानिनेछ । विधायक दलको बैठकको निगरानी केन्द्रीय नेताहरूले दिल्लीबाटै भिडियो कन्फरेन्सिङबाट गर्नेछन् ।
मध्य प्रदेशमा राजनीतिक खिचातानी टुंगोमा पुगेपछि कांग्रेस नेतृत्वको गठबन्धन सरकार सत्ताच्युत भएर भारतीय जनता पार्टीको सरकार बन्न लागेको छ ।
राजभवनले मुख्यमन्त्रीको शपथका लागि राति ९ बजेको समय दिएको छ । स्थानीय समयअनुसार राति ९ बजे मुख्यमन्त्री पदको शपथ लिइनेछ ।
यसका साथै शिवराज सिंह चौहान चौथोपटक मुख्यमन्त्री पदको शपथ लिँदैछन् । कोरोनाभाइरसका कारण शपथग्रहण समारोह सादा हुनेछ ।
राजभवनभित्र शपथको तयारी शुरू गरिएको छ । शपथग्रहणमा कम मानिसले मात्र भाग लिनेछन् ।
यसअघि कांग्रेसका २२ विधायकले राजीनामा दिएपछि कमलनाथ सरकार गिरेको थियो । ती २२ विधायक भाजपामा प्रवेश गरेका छन् ।
कांग्रेसका नेता ज्योतिरादित्य सिन्धियाले आफूलाई बेवास्ता गरिएको भन्दै कांग्रेसमा असन्तुष्टि प्रकट गर्दैै पार्टी छोडेका थिए । उनी भाजपामा प्रवेश गरे अनि उनका निकटवर्तीहरू पनि कांग्रेस छोडेर भाजपा गए ।