०८ साउन २०८३, शुक्रबार

‘लकडाउन’का बेला किराना, खाद्यान्न पसल र मेडिकल खुलै !

‘लकडाउन’का बेला किराना, खाद्यान्न पसल र मेडिकल खुलै !
प्रतिकात्मक तस्वीर

सरकारले मंगलवारदेखि लागू हुने गरी देशभर गरेको ‘लकडाउन’लाई सामान्यतया घरबाहिर निस्किन नपाइने रुपमा हेरिएको छ तर सरकारले केही अत्यावश्यक कामका लागि घरबाहिर निस्कन पाइने व्यवस्था गरेको छ ।

संक्रामक रोगहरूको रोकथाम गर्ने व्यवस्था गर्न बनेको ऐन २०२० अनुसार सरकारले जारी गरेको आदेशमा ‘औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने’ उल्लेख छ । 

आदेशको अर्थ खाद्यवस्तु खरिद गर्न घरबाहिर निस्किन पाइन्छ । उपभोक्ताले खाद्यवस्तु किन्न घरबाहिर निस्किन पाइने भएपछि खाद्यवस्तु बेच्ने खाद्यान्न पसल र किराना पसलले समेत खाद्यवस्तु बेच्न पाउने सुविधा आदेशमा छ ।
कोरोना भाइरसको रोकथामका लागि कतिपय देशले सरकारी संयन्त्रले खाद्यान्न पनि घरमै पुर्‍याउने खालको ‘लकडाउन’ गरेका छन् तर नेपाल सरकारले खाद्यान्न र औषधि स्वयं उपभोक्ताले नै घरबाहिर आएर किन्न पाउने छुट दिएको छ ।

उपभोक्ता र बिक्रेता मात्रै नभइ सरकारको आदेशमा खाद्यवस्तु उत्पादन गर्ने उद्योग र त्यसका कर्मचारीलाई समेत काममा खटिने सुविधा छ । ‘औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरूमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने,’ आदेशमा उल्लेख छ ।

हेर्नुस् सरकारले जारी गरेको ८ बुँदे आदेश –

१. औषधि उपचार, खाद्यवस्तु खरिदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने ।

२. अनुमतिप्राप्त सवारीसाधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाउने ।

३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यावसायिक उडानहरू बन्द गर्ने

४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापनजस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरू मात्र उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले बिदा दिने ।

५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरू बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरूमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने ।

६. व्यवसायीहरूले औषधि र औषधिजन्य सामाग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाई मुल्य बृद्धि गर्ने वा कालोबजारी,जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामाग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

७ संक्रमण रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नका लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोको लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने ।

८. संक्रमण रोग ऐन २०२० अन्तर्गत जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्‍याउने व्यक्तिलाई सोही ऐन बमोजिम सजाय हुने ।

salt training

कमेन्ट गर्नुहोस्