काठमाडौं, ७ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको सो पदका लागि योग्यता नपुगेको भनी आरोपित विषयमा बिहीबार सर्वोच्च अदालतमा बहस हुन लागेको आजको
नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

अधिकारविहीन प्रमुख आयुक्तको योग्यता नपुगेको भनि दायर भएको रिट निवेदन खारेज भए तापनि त्यसलाई पुनरावलोकन गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो । त्यसको पेसी आज बिहीबारलाई तोकिएको हो ।
सर्वोच्च अदालतले यो बिषयलाई दुवै पक्षका कानुन व्यवसायीले हटाउन नपाउने गरि आदेश जारी गरिसकेको छ । नेपाल बार एसोसिएसनले भने बिहीबार बारडे परेकाले मुद्दा हटाउन चाहेका कानुन व्यवसायीले निवेदन दिएमा सो निवेदनबमोजिम गर्न अनुरोध गर्दै सर्वोच्च अदालतलाई पत्र पठाएको छ ।
अधिकारविहीन अवस्थामा रहेका प्रमुख आयुक्त कार्कीविरुद्ध रिट निवेदन दायर गर्ने अधिवक्ता ओमप्रकाश अर्यालले नेपाल बारले त्यसरी पत्र पठाएको भएपनि नहटाउन आदेश भएका कारण उक्त विषयको छलफल नरोकिन सक्ने बताए।