
स्वास्थ्य परीक्षण नगरिएका अमेरिकी यात्रीहरूले कोरोनाभाइरस फैलाउन सक्ने भन्दै मेक्सिकोका विरोधकर्ताहरूले सीमानाका बन्द गरेका छन् ।
अमेरिकाको एरिजोना राज्यबाट दक्षिणमा रहेको सोनोराका निवासीहरूले लगातार दोस्रो दिन घन्टौंसम्म चेकपोइन्ट बन्द गराएका थिए ।
उनीहरूले मास्क लगाएर अमेरिकीहरूलाई ‘स्वागत छैन’, ‘घरैमा बस’ भनी लेखिएको प्लेकार्ड देखाएका थिए ।
मेक्सिकोमा कोभिड–१९ का ५०० भन्दा कम केस पुष्टि भएका छन् भने अमेरिकामा ६५ हजारभन्दा बढी केस पुष्टि भइसकेका छन् ।
सीमानाका अत्यावश्यक कामबाहेक सबैका लागि बन्द गरिएको भए पनि अधिकारीहरूले खासै स्वास्थ्य जाँच नगरेको भनी विरोधकर्ताहरूले आरोप लगाएका छन् ।
सोनोरन्स फर हेल्थ यान्ड लाइफ नामक समूहका सदस्यले यो नाकाबन्दीको नेतृत्व गरेका हुन् । अमेरिकाबाट मेक्सिको प्रवेश गर्ने जोकोहीलाई पनि स्वास्थ्य परीक्षण गर्न उनीहरूले आह्वान गरेका छन् ।
महाव्याधि रोक्नका लागि राम्रो प्रयास नगरेको भनी मेक्सिकोका राष्ट्रपति पनि अनि अमेरिकाका राष्ट्रपतिले पनि आलोचना खेपिरहेका छन् ।