विश्वव्यापी महामारीको रूप धारण गरेको कोभिड– १९ (कोरोनाभाइरस)को आशंकामा नेपालमा ८ सय २ जनाको स्वास्थ्य परीक्षण गरिएको छ, त्यसमध्ये ३ जनामा पोजेटिभ रिपोर्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रवारसम्म गरिएका परीक्षणमा ७ सय ९९ जनाको नेगेटिभ रिपोर्ट (कोरोना संक्रमण नभेटिएको) आएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
तीन जनामा पोजेटिभ रिपोर्ट देखिएकोमा एक जनालाई निको भइसकेको छ भने दुईजना टेकु अस्पतालको आइसोलेसनमा छन् ।
फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक १९ वर्षीया युवती तथा दुबईबाट नेपाल आएका ३२ वर्षीय पुरुष शुक्रारज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत छन् ।
सरकारले कोरोनाको आशंका गरिएका बिरामीको स्वास्थ्य परीक्षणको दायरा फराकिलो बनाएको जनाएको छ ।
गत डिसेम्बरको अन्तिममा चीनको वुहानबाट शुरू भएको कोरोनाका कारण मंगलवारसम्म विश्वभर गरेर २४ हजार ३ सय ६३ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ४२ हजार संक्रमित छन्, संक्रममितको संख्या सबैभन्दा धेरै अमेरिकामा ८५ हजार पुगेको छ ।