
काठमाडौं, ८ वैशाख — उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भव्य आणविक प्रिएम्प्टिभ आक्रमण गरेर अमेरिकालाई खरानी बनाइदिने धम्की दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले प्योङयाङलाई आणविक हतियार कार्यक्रम बन्द गर्नका लागि दबाब दिनुपर्ने बताएपछि उत्तर कोरियाले क्रुद्ध प्रतिक्रिया जनाउँदै धम्की दिएको हो ।

‘हामीले विशाल तथा भव्य प्रिएम्प्टिभ आक्रमण गरेपछि अमेरिकी साम्राज्यवादीहरूका कोरियाली चम्चा मात्र नभई अमेरिका आफैं पनि खरानी हुनेछ,’ रोदोङ सिन्मुनले बिहीवार लेख्यो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाविरुद्ध कठोर नीति लिएका छन् र त्यसैलाई कार्यान्वयन गर्न टिलरसनले प्योङयाङलाई दबाब दिन उपाय खोजिरहेको बताएका हुन् ।
यसैबीच दक्षिण कोरियाका कायममुकायम राष्ट्रत ह्वाङ क्यो–आह्नले आफ्नो देशका सेना र रक्षा मन्त्रालयलाई सतर्क रहन आह्वान गरेका छन् ।
एजेन्सी