भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्ध भारतले डटेर लडाइँ गर्नुपर्ने बताएका छन् । कोरोनाविरुद्धको लडाइँमा सरकारलाई सहयोग गरेकोमा उनले जनतालाई धन्यवाद समेत दिए ।
आइतवार 'मन की बात' कार्यक्रममा बोल्दै उनले संस्कृतको एक श्लोक पनि उद्धृत गरे :
एवं एवं विकारापि तरुणाः साध्यते सुखम् ।
त्यसको अर्थ हुन्छ : कुनै पनि रोग वा संक्रमणलाई आरम्भमै उपचार गर्नुपर्छ अनि मात्र सुख पाइन्छ अन्यथा त्यसको उपचार गर्न गाह्रो हुन्छ ।
अहिले भारत र यहाँका नागरिकले त्यसै गरिरहेको उनले बताए ।
देशलाई पूर्ण बन्दाबन्दी गरेर मानिसलाई समस्यामा पारेकोमा उनले क्षमा समेत मागे तर कोरोनाभाइरसविरुद्धको लडाइँ जीवनमृत्युको सवाल भएको उनको भनाइ छ ।
‘मेरो अन्तरआत्माले भन्छ– तपाईंहरूले मलाई अवश्य पनि क्षमा दिनुहुनेछ किनकि मैले लिएका केही निर्णयले तपाईंहरूलाई निकै कठिनाइमा पारे,’ मोदीले भने ।
‘विशेषगरी म गरीब दाजुभाइ दिदीबहिनीहरूलाई हेर्छु अनि सोच्छु उनीहरू भन्दा हुन्– हामीलाई यस्तो परिस्थितिमा पार्ने यो कस्तो प्रधानमन्त्री हो,’ उनले थपे ।
‘लकडाउन तपाईं र तपाईंहरूको परिवारलाई सुरक्षा दिनका लागि हो । तपाईंहरू थप केही दिन यो धैर्य देखाउनुपर्नेछ,’ उनले भने ।
मोदीले विगत केही दिनयता दुईपटक कोरोनाभाइरस संक्रमणका विषयमा राष्ट्रको नाममा सम्बोधन गरिसकेका छन् ।
उनले गत मंगलवार मध्यरातदेखि लागू हुने गरी २१ दिनसम्म देशव्यापी बन्दाबन्दीको घोषणा गरेका छन् ।