काठमाडौं, ७ वैशाख– सन् २०१८ मा हुन लागेको एएफसी यू १६ च्याम्पियनसिप छनोट प्रतियोगिताको नेपाल समूह ‘डी’मा परेको छ ।
एसियाली फुटबल महासंघ (एएफसी)ले शुक्रबार सार्वजनिक गरेको ड्र मा नेपाल समूह डीमा परेको हो । मलेसियाको क्वालालम्पुरमा भएको ड्र को वेस्ट जोन अन्तर्गत नेपालको समुहमा भारत, इराक र प्यालेस्टाइन पनि परेका छन् । नेपाल रहेको समूह डी का छनोट खेलहरु नेपालले आयोजना गर्ने छ ।
छनोट खेल आगामी सेप्टेम्वर १६ देखि २४ सम्म हुनेछ । र, समूहको शीर्ष स्थानमा रहने टीम फाइनल चरणको लागि छानिनेछ ।
फाइनल चरणको खेलका लागि आयोजक भने अहिलेसम्म तय भएको छैन । एएफसीले एसियाका ४५ सदस्य राष्ट्रलाई १० समूहमा विभाजन गरेर ड्र गरेको थियो ।
