२८ असार २०८३, आइतबार

कोरोनाभाइरसका कारण युरोपका स्याहार केन्द्रहरूमा संकट, वृद्धहरूलाई मर्न छोडिँदै

चैत १८, २०७६
कोरोनाभाइरसका कारण युरोपका स्याहार केन्द्रहरूमा संकट, वृद्धहरूलाई मर्न छोडिँदै

पेरिसको रोथ्सचाइल्ड केयर होमबाहिर एउटा भ्यान रोकिन्छ । त्यसबाट प्लास्टिकमा मोरिएको धमिलो काठको सामान ओरालिन्छ ।

डेलिभरी गर्ने मानिसले एक पत्रकारलाई भन्छन्, ‘यो अनवरत छ ।’ उनले लगातार कफिन ल्याइरहेको भनेको हुन् ।

केयर होमका ढोकाहरू ढ्याम्म बन्द छन् । कोरोनाभाइरसका कारण त्यहाँ १६ जना मरेको आशंका गरिएको छ अनि ८० जना संक्रमित छन् । 

पेरिसमा रहेका केयर होममध्ये एक तिहाइमा कोरोनाभाइरस फैलिएको विश्वास गरिएको छ । अस्पतालहरूमा कोरोनाका रोगीहरू मरेको दैनिक अभिलेख रहन्छ तर केयर होममा भएका मृत्युको कुनै अभिलेख छैन । 

अलेक्जान्द्रे सान्नर पूर्वी फ्रान्समा रहेको भोस्गेसस्थित अर्को स्याहार केन्द्रमा चिकित्सक छन् । त्यहाँ कम्तीमा २० जनाको मृत्यु भएको छ । 

‘लगभग ५० जनालाई ज्वरो आएको थियो अनि त्यसपछि कडा निमोनिया लाग्यो,’ उनले भने । ‘महामारी चरममा हुँदा कम्तीमा २५ देखि ३० रोगीलाई अक्सिजन चढाउनुपरेको थियो ।’

फ्रान्सका वृद्धाश्रममा रहेका मानिसमध्ये कमको मात्र भाइरस परीक्षण गरिएको छ । दिनदिनै ती वृद्धाश्रमबाट दोहोरो अंकमा मृत्यु भइरहेको छ । वृद्धाश्रमहरू बाहिरी विश्वबाट पूरै बन्द छन् । 

इटली र स्पेनमा युरोपभरिकै सबभन्दा धेरै र खतरनाक संक्रमण फैलिएको छ । त्यहाँका वृद्धाश्रमले यसको सबभन्दा बढी पीडा खप्नुपरेको छ । त्यहाँ व्यापक संक्रमण र कर्मचारीको अभावको समस्या छ । 

इटलीको बेर्गामोमा रहेका वृद्धाश्रममा सयौं मानिस मारिएका छन् । एउटा वृद्धाश्रममा कर्मचारीहरू क्वारेन्टाइनमा बस्नुपरेकाले ८३ जना वृद्धहरू दुई दिनसम्म भोकै बस्नुपरेको थियो । 

स्पेनका वृद्धाश्रममा मृत्युदर डरलाग्दो रहेको भनी मड्रिडस्थित मोन्टे हर्मोसो केन्द्रमा सतर्क गराइएको थियो । त्यहाँ कोरोनाभाइरसले २० जनाको ज्यान लियो । देशभरिका वृद्धाश्रममा सेना पठाएर आकस्मिक सहयोग उपलब्ध गराइएको थियो र १३ सयभन्दा बढी केन्द्रमा संक्रमणमुक्त बनाउन रसायन छर्किएको छ । 

तर अधिकारीहरू प्रायः ढिलो आइपुग्ने गरेका छन् । मड्रिडको एक वृद्धाश्रममा २३ जना मरेको भेटिए । दुईजना सुसारे पनि मरेका थिए । 

अलिकान्ते भन्ने ठाउँनेरको अल्कोइमा रहेको एक वृद्धाश्रममा १३० मध्ये २६ जनाको मृत्यु भएको थियो । मार्च महिनामा वृद्धाश्रमहरूमा १६ सयजनाको मृत्यु भयो । तीमध्ये आधालाई कोभिड–१९ ले ज्यान लिएको विश्वास गरिएको छ । 

नातेदारहरूले संक्रमणका विषयमा सूचनाको अभाव रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । कर्मचारीहरू चाहिँ जनशक्तिको अभाव रहेको र सुरक्षा वस्त्र नभएका कारण सबै कुरा धराशायी भएको गुनासो गर्छन् । स्याहार गर्नेहरूलाई भाइरस लागेर सेल्फ आइसोलेसनमा बस्नु परिरहेको छ । 

महामारी फैलिँदै जाँदा सरकारलाई यो सम्हाल्न धौधौ परेको छ । 

प्रत्येक राति फ्रान्सेलीहरू झ्याल खोलेर देशका स्वास्थ्यकर्मीको कामलाई प्रशंसा गर्दै ताली बजाउँछन् । 

चिकित्सक, नर्स र केयर होम कर्मचारीहरूसँगको एक्यबद्धता आफ्नै ठाउँमा छ । तर सर्वेक्षणहरूले देखाएअनुसार, सरकारप्रतिको विश्वास ध्वस्त भएको छ । महाव्याधि चरममा पुग्नुअघि नै विश्वासको संकट देखिन थालेको थियो ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्