
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धविराम अब 'समाप्त' भएको घोषणा गरेका छन् । टर्कीमा जारी नेटो शिखर सम्मेलनका क्रममा सञ्चारकर्मीहरूसँग बोल्दै ट्रम्पले इरानमाथि आज राति नै फेरि 'कडा प्रहार' गर्ने धम्की दिएका हुन् ।
पछिल्लो २४ घण्टामा दुवै देशबीच भएको भीषण सैन्य आक्रमणपछि यो तनाव चुलिएको हो। मङ्गलबार राति अमेरिकाले इरानका ८० भन्दा बढी स्थानमा बमबारी गरेको थियो। त्यसको प्रतिशोधमा इरानले बहराइन र कुवेतमा रहेका अमेरिकी सैन्य अखडालाई निसाना बनाएको दाबी गरेको छ।
इरानी नेतृत्वप्रति आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पले उनीहरूलाई "नीच र बिरामी मानिसहरू" को संज्ञा दिएका छन् ।
होर्मुज जलसन्धिमा तेल ट्याङ्करहरूमाथि भएको आक्रमणपछि यो विवाद उत्कर्षमा पुगेको हो। संयुक्त राष्ट्रसंघको सामुद्रिक निकायले सो क्षेत्रमा हाल करिब ६,००० नाविकहरू अलपत्र परेको जनाउँदै पानीजहाज सञ्चालकहरूलाई सो मार्ग प्रयोग नगर्न आग्रह गरेको छ।