१० असार २०८३, बुधबार

कोरोनाको अत्यास कहिलेसम्म ? विज्ञ भन्छन् – यो रात ढल्नुको बिकल्प छैन

कोरोनाको अत्यास कहिलेसम्म ? विज्ञ भन्छन् –  यो रात ढल्नुको बिकल्प छैन

अहिले बाताबरण निकै मनमोहक छ । रुखले पालुवा लगाएका छन् । चराहरुको चिरबिरले बसन्त ऋतुलाई रंजन गर्दैछन । स्वच्छ हावा बहिरहेको छ । क्षितिजमा हिमाल मुस्कुराएका छन् । डांडाकाँडाले हरियो पछ्यौरा ओढेका छन् । आकासमा जुनतारा चम्किएका छन् । कतै पनि धुलो, धुँवा तथा कोलाहल छैन । पशुपंक्षी तथा बनस्पतिले आफुलाई सुरक्षित ठानेका छन् ।

घरको खाना, आराम तथा धपेडीविहिन जीवनशैलीको कारण मान्छेहरु स्वस्थ छन् । ब्यस्त मान्छेहरु पनि परिवारसंग मिठा पल व्यतित गरिरहेका छन् । अस्पताल, क्लिनिक तथा स्वास्थ्य केन्द्रहरु रित्ता छन् । प्रदुषणको कारण हाम्रा आँखा, छाला तथा श्वासमार्गमा एलर्जी भएको छैन । रुघाखोकी लागेको छैन । सास फेर्न गाह्रो भएको छैन । फोक्सोमा प्रचुर अक्सिजन भरिएको छ । जंक फुड, रेस्टुरेन्ट तथा होटलका कृत्रिम खानाले कसैको पनि पेट बिगारेको छैन । पाचन प्रणाली आफ्नो लयमा फर्किएको छ । कामको तनाब, दिनचर्याको तनाब तथा ट्राफिक जामको तनाब शून्यप्राय छ ।

लाग्छ, सधै जीवन यस्तै थियो । धुलो, धुँवा, हिलो, चर्को आवाज, कोलाहल कहिल्यै थिएन र अब हुने छैन । सहर पहिलोपटक गाउँ भएको छ । हामीसंग भएका सामग्री आफैलाई बढी भएको छ । कुनै कपडा किन्ने रहर छैन । बाहिर खाने इच्छा छैन । कसैलाई भेट्ने चाह छैन ।

मनमा एक तमासको डर छ । आँखाले नदेखिने कोरोना भाइरसले पृथ्वी ठप्प पारेको छ । आफ्ना हातसंग शंका छ । आफ्ना घरका सामानसंग शंका छ । आफन्तसंग शंका छ । मान्छेसंग भेट्नु नपरे हुन्थ्यो जस्तो लागिरहेको छ ।
अत्यास छ, यो भाइरसको तानाशाही सत्ता कति लम्बिने हो ? भान्सा रित्तिएपछि के खाने हो ? औषधि पाइने हो कि हैन ? पानी पिउन कहिलेसम्म पाइने हो ? कथंकदाचित बिरामी भए के गर्ने हो ? बिभिन्न किसिमका भाडा कसरी तिर्ने हो ? कहाँबाट पैसा ल्याएर किस्ता तिर्ने हो ? यो कोरोना शाशन ढल्ने बेलासम्म आफ्नो जागिर रहने हो कि गइसक्ने हो ? एउटा सिटामोल किन्न जाँदा प्रहरीको लाठी खान पर्ने कहिलेसम्म हो ? हिड्दाहिंड्दै बीच बाटोमा रोकिएका पाइला कहिलेदेखि अगाडि बढाउने हो ?

धैर्यताको बिकल्प छैन । नयाँ दिन आउन यो रात ढल्नुको बिकल्प छैन । कति लामो रात हो यो ?

चिन्ताको कुनै अर्थ छैन । जीवनमा जे जे आए, ती स्वीकार्य भए । तीता पल, मिठा पल, सुन्दर पल, कुरूप पल । अब आउने पल पनि स्विकार्नु पर्छ, चुपचाप । सहनु पर्छ, चुपचाप । प्रकृति बदलियो अब स्वीकृति बदलिनु जरुरी छ । शक्ति, बैभव र प्रगतिको परिभाषा बदलियो अब हामीलाई त्यसलाई हृदयंगम गर्नु जरुरी छ । सुरक्षाको परिभाषा बदलियो, सत्रुको परिभाषा बदलियो, मित्रको परिभाषा बदलियो, छनोटको परिभाषा बदलियो ...अब हामीले आफूलाई पढ्नु जरुरी छ, को हुँ भनेर चिन्नु जरुरी छ ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

salt training

कमेन्ट गर्नुहोस्