कोरोनाभाइरसविरुद्धको लडाइँमा संसारभरिका अस्पतालमा चिकित्सकहरूको संघर्ष जारी छ ।
चिकित्सक र नर्सहरू छुट्टी नलिइकन लगातार तीन दिनसम्म बिरामीको उपचार गरिरहेका छन् । त्यसक्रममा उनीहरू घरपरिवारसँग सम्पर्कमा छैनन् अनि आफ्नो स्वास्थ्यको हेरचाह पनि गर्न पाइरहेका छैनन् । तैपनि उनीहरू उपचारमा कुनै कमी हुन दिइरहेका छैनन् ।
भारतको मध्य प्रदेशमा रहेको भोपालमा डा सुधीर डेहरिया कोरोनाका रोगीहरूको उपचारमा अहोरात्र खटिएका छन् । चीफ मेडिकल यान्ड हेल्थ अफिसर भएका नाताले पूरा जिल्लाको जिम्मेवारी उनमा छ ।
डा डेहरिया आफ्नो काममा व्यस्त भएर पाँच दिनसम्म घर आउन सकेनन् । पाँचौं दिन घर आउँदा उनले जिम्मेवारीलाई विचार गर्दै घरभित्र पाइला राखेनन् । घरको मुख्य ढोकाबाट पाँच फीट पर बसे, चिया पिए, परिवारको हालखबर सोधे र अस्पतालै फर्किए ।
मुख्यमन्त्री शिवराज सिंह चौहानले डा डेहरियाको निष्ठाको प्रशंसा गर्दै चिकित्साकर्मीहरूप्रति गर्व लागेको बताए ।