२५ जेठ २०८३, सोमबार

संक्रमणबाट जोगिन बढाउनुस् रोगप्रतिरोधात्मक क्षमता, यी खानेकुरा काम लाग्छन्

चैत १९, २०७६
संक्रमणबाट जोगिन बढाउनुस् रोगप्रतिरोधात्मक क्षमता, यी खानेकुरा काम लाग्छन्

कोरोनाभाइरस निको पार्ने औषधि वा खोप विकसित भइसकेको छैन । 

अहिले भिटामिन सी सप्लिमेन्टहरू ठूलो संख्यामा बिकिरहेको भए पनि रुघाको रोकथाम गर्न यी प्रभावकारी छन् भन्ने विषयमा ठोस प्रमाण भेटिँदैन । 

तर कोरोनाविरुद्ध तपाईंले रोगप्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) बढाउनु चाहिँ जरूरी छ । 

‘स्वस्थ रहनका लागि व्यायाम गर्नु सबभन्दा उपयुक्त उपाय हो,’ बर्मिंघम विश्वविद्यालयमा इम्युनिटी र वार्धक्यका विषयविज्ञ प्राध्यापक ज्यानेट लर्डले बताए । 

‘व्यायाम गर्दा त्यसको एन्टी–इन्फ्लेमेटोरी प्रभाव पर्छ र न्युट्रोफिल भनिने रोगप्रतिरोधात्मक कोशिकाहरू संक्रमण भएको ठाउँमा छिटो पुग्छन् । यसले म्याक्रोफेग्स भनिने अन्य इम्युन कोशिकालाई पनि सहायता गर्छ । तिनले शरीरलाई संक्रमणबाट रोक्न गश्ती गर्छन् ।’

रोगप्रतिरोधात्मक क्षमता बढाउने अर्को उपाय भनेको कम नून खाने हो । 

एक अध्ययनमा देखिएअनुसार, मुसाहरूलाई नूनिलो खानेकुरा खुवाउँदा ब्याक्टेरियाको संक्रमणको जोखिम बढ्यो । 

अनि मानिसहरूलाई दिनको ६ ग्राम नून दिइँदा ब्याक्टेरियासँग लड्ने उनीहरूको क्षमता ध्वस्त भयो । 

त्यसैगरी लकडाउनको बेलामा समय कटाउन यसो चुस्की लगाउन मन लाग्दो हो । तर पाइयो भन्दैमा बेस्सरी रक्सी पिउँदा इम्युन सिस्टम ध्वस्त हुन्छ । त्यसैले ठिक्क मात्रामा मात्र रक्सी पिउनुहोला । 

हप्ताको १४ युनिटभन्दा बढी रक्सी नपिउनुहोला । त्यो भनेको पाँच गिलास वाइन हो । 

घाम ताप्दा भिटामिन डी भरपूर पाइन्छ । 

‘भिटामिन डीले इम्युन सिस्टममा राम्रो असर पार्छ,’ युनिभर्सिटी कलेज लन्डनमा इम्युनोलोजीका प्राध्यापक आर्ने अकबरले बताए । 

खानेकुराबाट पनि भिटामिन डी पाइन्छ तर घाम ताप्दा त्यसभन्दा निकै धेरै भिटामिन पाइन्छ ।

त्यसबाहेक शाकाहारी भोजन गर्दा पनि इम्युनिटी बढाउन सकिन्छ । जति धेरथरी खानेकुरा खायो, त्यति राम्रो हुन्छ । तरकारी, फलफूल, नटुक्र्याइएका अन्न, गेडागुडी र दाल अनि बियाँहरू खानुपर्छ । 

विभिन्न रंगका खानेकुरा खान सल्लाह दिइन्छ । जस्तो हरियो र कालो अंगुर । 

अनि जिंक खानेहरूमा संक्रमण दर नखानेमा भन्दा कम हुन्छ । जिंक रोगप्रतिरोधक क्षमताका लागि लाभदायक छ । 

जिंक चाहिँ दुग्ध पदार्थ र अन्नहरूमा पाइन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्