१० असार २०८३, बुधबार

कोरोना अस्पतालका मृतकको शव ४ दिनसम्म उठेन, पत्नीको प्रश्न : के कारणले मृत्यु भयो ?

चैत १९, २०७६
कोरोना अस्पतालका मृतकको शव ४ दिनसम्म उठेन, पत्नीको प्रश्न : के कारणले मृत्यु भयो ?
फाइल फोटो

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव ४ दिनसम्म उठ्न सकेको छैन ।

कोरोनाको आशंकामा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा उनको चैत १६ गते बिहान मृत्यु भएको थियो ।

रुपन्देहीको सैनामैना नगरपालिका–४ का थापाको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएपनि परिवार र आफन्तले शव बुझेका छैनन् । 

अस्पतालले शव लैजान आग्रह गरेको छ । मृतक थापाकी पत्नीले अस्पतालको लापरवाहीले पतिको मृत्यु भएको भन्दै राहत उपलब्ध गराउन माग गरेकी छन् । ‘केही नभएको बिरामीलाई कोरोना अस्पतालको नाममा मृत्यु हुने बनाइयो । उपचार गर्न अस्पताल गएको हो, मर्न होइन । राज्यले आफूलाई उचित राहतको व्यवस्था गर्नुपर्छ,’ रीताले लोकान्तरसँग भनिन् ।

चैत ६ गते यूएईबाट आएका थापालाई आउँदा नै ज्वरो आएको थियो । उनी घरमा आएपछि नजिकैको मेडिकलमा गएर चेकजाँच गरी औषधि खाए । उनलाई टाइफाइटको समस्या देखिएको थियो । घरपरिवार र छिमेकीले कोरोनाका लक्षण देखिएपछि उनी आफैं अटो रिक्सा रिजर्ब गरी लकडाउनको समयमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका थिए ।

कोरोना भाइरस संक्रमणको आशंकामा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा चैत १६ गते थापाको मृत्यु भयो । शवलाई अहिले प्रादेशिक अस्पतालको मर्चरीमा राखिएको छ । 

प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले थापाको परिवारलाई शव लैजान भनिएपनि नलगेको बताए । ‘परिवार र आफ्न्तले शव लैजान खोजेका छैनन्,’ मन्त्री बरालले लोकान्तरसँग भने, ‘उपचारमा कुनै नेक्लिजेन्सी भएको छैन । अस्पतालले राहत उपलब्ध गराउन सक्दैन,’ उनले थपे, ‘उपचार गर्दागर्दै मृत्यु भएको हो । प्रदेश सरकारले भन्टिलेटर उपलब्ध गराउन नसक्नु बाध्यता हो । लापरवाही होइन ।’

मृतककी पत्नी रीता

थापाको मृत्यु भएपछि मात्र स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । २ पटक स्वाब परीक्षण गर्दा पनि उनको रिपोर्ट नेगेटिभ आएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पतालमा आएका सबै उपचार सफल नहुने बताए । ‘महामारीको अवस्थामा पनि अभावबीच चिकित्सकले काम गरेको छन् । उपचारमा कुनै कमी भएको होइन । के औषधि चलाए । त्यो रिपोर्ट हुन्छ । चिकित्सकको कमजोरीले मृत्यु होइन,’ अध्यक्ष भट्टराईले भने । 

पतिको मृत्यु भएपछि रीता अस्पताल पुग्दा समेत उनले पतिको मुख हेर्न समेत पाइनन् । न उनलाई कसैले समवेदना दिएन । लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले मृतक थापामा कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि अन्य के कारणले मृत्यु भएको हो भन्ने खुल्न नसकेको बताए । चिकित्सक थापाले बाबुराममा कुनै दीर्घरोग नभएको बताएका थिए । 

थापाको स्वाब परीक्षण गर्न ढिलाइ भएको परिवारको दाबी छ । थापा अस्पताल पुगेको ४ दिनसम्म पनि स्वाब जाँचका लागि पठाइएको थिएन । अस्पतालले जहाजको उडान नभएको र गाडीमा १ जनाको पठाउँदा महंगो पर्ने भन्दै ३ दिनमा धेरै जनाको संकलन गरेर पठाउने गरेको बताएको थियो ।

प्रदेशमा अब कोरोनाको जाँच गर्ने मशिन आइसकेको छ । अबको १–२ दिनमा भैरहवामा नै जाँच हुने भएको छ । कोराना अस्पतालमा १८ जना बिरामी भर्ना भएका थिए । त्यमध्ये आधाभन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
कोरोना अस्पतालमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले भेन्टिलेटर र आईसीयू प्रयोगमा ल्याइँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्