संसारभरि कोरोनाभाइरसबाट बच्नका लागि विभिन्न देशले अनेक किसिमका प्रयास गरिरहेका छन् ।
अस्ट्रेलियाले चाहिँ यस क्रममा सडकमा सुत्ने घरबारविहीनहरूलाई कोरोनाभाइरसबाट बचाउनका लागि पाँचतारे होटलमा राख्ने भएको छ ।
अस्ट्रेलियाको पर्थमा यो योजना ल्याइएको हो । सडकमा सुत्नेहरूलाई दिनको ३२ हजार रुपैयाँ तिर्नुपर्ने होटलमा राख्न खोजिएको हो ।
होटल्स विथ हार्ट परियोजना अन्तर्गत एक महिनाका लागि सडक मानवहरूलाई होटलमा राखिनेछ । शुरूमा २० जना घरबारविहीनहरूलाई प्यान प्यासिफिक होटलमा राख्ने व्यवस्था गरिनेछ ।
आफूलाई आइसोलेट गर्न असमर्थ घरबारविहीनलाई सरकारले छान्नेछ । पछि चाहिँ घरेलु हिंसाको शिकार भएका महिला र मानसिक स्वास्थ्यमा समस्या देखिएका व्यक्तिलाई पनि यो सुविधा उपलब्ध गराउन सकिनेछ ।
प्रोजेक्ट सफल भएमा होटलका १२० कोठा उपयोग गरिनेछन् ।
प्रोजेक्टको कुरा उठेपछि घरबारविहीन मानिसलाई कोरोनाबाट बचाउन अघिल्लो साता एउटा टास्क फोर्स गठन गरियो । यस प्रयासले स्वास्थ्य सेवामा पर्ने दबाब घटाउन सकिने कम्युनिटी सर्भिस मिनिस्टर सिमोन म्यागर्कले बताए ।