
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि ल्याइएको र्यापिड टेस्टकिट प्रयोग नगर्न भनेको छ ।
मन्त्रालयका स्वास्थ्य विज्ञ डा. खेम कार्कीले विज्ञप्ति जारी गरी सरकारले चीनबाट ल्याएको टेस्टकिटकोे गुणस्तर निर्क्योल गरेपछि मात्रै प्रयोग गर्ने भएकाले अहिले प्रयोग नगर्न निर्देशन दिएका हुन् ।
‘बजारमा अवैध ढंगले र्यापिड किट भित्र्याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न शुरू भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्यापिड किटको प्रयोग नगर्न निर्देशन दिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
उनले मंगलवार मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा पनि टेस्टकिटबारे सार्वजनिक गरेको उल्लेख गर्दै अनधिकृत स्रोतबाट बजारमा वितरण तथा प्रयोग भइरहेको जनगुनासो आउनेबित्तिकै यस्तो नगर्न आग्रह गरिएको जानकारी दिए ।
‘सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भइसकेपछि मात्र प्रयोगका लागि वितरण हुने हो,’ विज्ञप्तिमा भनिएको छ ।
उनले सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेस्ट किट चीन सरकारले प्रमाणित गरेको किट रहेको उल्लेख गर्दै नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेस्ट गर्नुपरेको अवस्थामा पीसीआर मेसिनले धान्न नसक्ने भएकाले र्यापिड टेस्ट किट प्रयोग गरी स्क्रिनिङ गर्ने र शंकास्पदको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तरराष्ट्रिय मान्यताअनुसार पूर्वतयारी गर्न खोजिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । अहिले युरोप, अमेरिकाले पनि यही विधिमार्फत नै परीक्षण गरिरहेका छन् ।